बल्ढेङगढी ढाबका १९ परिवारलाई खाद्यान्न

पाल्पा । जिल्लाको रैनादेवीछहरा गाउँपालिका–७, ढाबका विपन्न वर्गलाई सोही गाउँपालिकामा थप १९ परिवारलाई राहत प्रदान गरिएको छ । उनीहरुलाई स्थायी बसाई भएका ताराबहादुर खड्का र लता खड्काले खाद्यान्न राहत प्रदान गरेका हुन् ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनीकी संयोजक रहेकी लता खड्का र उनका बुवा तारा बहादुर खड्काले लामो निषेद्याज्ञाका कारण जंगलको बीचमा रहेको बस्तीका बासिन्दालाई समस्या परेपछि आफ्नो निजी खर्चमा अत्यावश्यक खाद्यान्न सहयोग गरेका हुन् ।

बल्ढेङगढी ढाबका विपन्न परिवार राहत लिँदै । तस्विर ः करूवा

अन्य समयमा पनि विभिन्न सेवाबाट बञ्चित रहेका विकट क्षेत्रका बासिन्दालाई हाल झनै समस्या परेको हुँदा सहयोग गरेको सहयोगी लता खड्काले बताइन् । ‘जंगलको बीचमा बस्ती छ, त्यहाँ र त्यहाँका बासिन्दाप्रति खासै धेरैको ध्यान जाँदैन,’ उनले भनिन्, ‘विशेषगरी दलित समुदायको बाहुल्यता रहेको छ । बुटवल बसेपनि स्थायी घर बल्ढेङगढी भएकाले विपद्का बेलामा विपन्न परिवारलाई सक्दो सहयोग गरेका हौं ।’

बाबु छोरीले आफ्नै खर्चमा प्रति परिवार २५ किलो चामल, दाल, सोयाविन लगायतका खाद्यान्नहरु सहयोग हस्तान्तरण गरेको खड्काले बताइन् । रैनादेवी छहरा गाउँपालिका जन्मघर भएका खड्काद्वय रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ मा बसोबास गर्छन् ।

एकान्त स्थानमा रहेको उक्त बस्तीमा वर्षायाममा पक्की पुलका अभावका कारण सवारी साधनसमेत चल्दैन । त्यसले गर्दा पनि यहाँ थप समस्या हुनसक्ने भन्दै गाउँपालिकालाई ध्यानकर्षण समेत गराएकी छन् ।

विश्वव्यापी कोभिड महामारीका कारण सबै क्षेत्र र वर्ग प्रभावित छन् । गरिब र बिपन्न वर्गलाई भने जिविकोपार्जन गर्न निकै गार्हो भएको छ । तर, त्यस्ता कैयौं वर्गलाई स्थानीय समाजसेवी वा मनकारीहरुको सहयोगले भौकै बस्नुपर्ने बाध्यता भने हटेको स्थानीयले बताए ।

सम्बन्धित खवर