रामपुर अस्पतालमा अक्सिजन प्लाण्ट र एचडियु बन्ने

पाल्पा । रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लाण्ट र एचडियु निर्माणका लागि बजेट निकासा भएको छ । रामपुर अस्पतालबाट पाल्पाका साथै छिमेकी स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने गर्छन् ।

अस्पतालमा अक्सिजन प्लाण्ट र एचडियु स्थापना गर्न संघीय सरकारले एक करोड ५५ लाख बजेट विनियोजन गरेको छ । रकममध्ये अक्सिजन प्लाण्टका लागि ७५ लाख रहेको छ ।

साथै एचडियू निर्माणका लागि ८० लाख बजेट निकासा भएको पूर्वमन्त्री तथा संघीय सांसद दलबहादुर रानाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । सरकारले पाल्पाको रामपुर अस्पतालसँगै देशका छ अस्पतालमा थप स्वास्थ्य सेवा विस्तारका निम्ति रकम निकासा गरेको उनको सामाजिक सञ्जालमा रहेको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ ।

अक्सिजन प्लाण्ट खरिद तथा जडान, पाँँच शैयाको एचडियू, ५ शैंयाको आइसियू र दुईवटा भेन्टिलेटर जडान गर्न स्रोत सहमति भएको छ । रामपुर अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागि बजेट विनियोजन भएपछि स्तरवृद्धिका लागि सहयोग पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विजय परियारले बताए ।

विभिन्न चार जिल्लाका दैनिक करीब ३ सय नागरिकले सेवा लिने कुरा निकै खुसीको विषय भएको उनले बताए । अस्पताल ५० बेडमा स्तरोन्नति भएको छ भने नयाँ भवन निर्माण भइरहेको छ ।

सम्बन्धित खवर