भैरवस्थानमा राहत वितरण

पाल्पा । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पहिरोले पुरिएर मृत्युभएका परिवारलाई राहत वितरण गरे । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थान मन्छिपमा पहिरोले पुरिएर मृत्यु भएका १९ वर्षीय मदन भट्टराईको परिवारलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले राहत स्वरुप २० हजार नगदसहित खाद्यान्न र लत्ताकपडा सहयोग गरेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले नगदसहित त्रिपाल, कम्मल, लत्ताकपडा, भाँडाकुँडा लगायत खाद्यान्न सामग्री मृतकको आमालाई प्रदान गरेका हुन् ।

वडाबाट आवश्यक कागजात प्रक्रिया पुग्नेवित्तिकै जिल्ला विपद् व्यवस्थापन समितिले परिवारलाई २ लाख रुपैंया थप राहत प्रदान गर्ने प्रजिअ पाण्डेयले बताए । तत्काल पहिरो पीडितका परिवारका लागि विपद्मा केही राहत मिलोस् भनेर पीडितको परिवारमै पुगेर सहयोग प्रदान गरिएको हो ।

अविरल वर्षाको कारण आफ्नै घरमाथिबाट आएको पहिरोले पुरिँदा भैरवस्थानका १९ वर्षिय किशोर मदन भट्टराईको मृत्यु भएको थियो । यसैबीच, महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराएकी छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले परिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारलाई राहत उपलब्ध गराएकी हुन् ।

नेतृ पन्थी र नेपाल शिक्षक संघ रिब्दीकोटका सचिव लोकनाथ अधिकारी भट्टराई परिवारमै पुगी सहानुभूति प्रकट गर्नुको साथै राहत सहयोग गरेका छन् । जिल्लाका स्थानीय तहमा रहेका कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री र पौष्टिक आहार सहयोग गर्दै आएकी पन्थीले पीडामा परेका परिवारहरुका लागि केही भएपनि सान्त्वना र सहयोग मिलोस् भनेर राहत सहयोग गरेको बताएकी छन् ।

सम्बन्धित खवर