रम्भाको जोड गुणस्तरीय शिक्षा

पाल्पा । रम्भा गाउँपालिकाले आगामी आर्थिक वर्षमा प्रविधिमैत्री गुणस्तरीय शिक्षामा जोड दिने भएको छ । उसले नीति तथा कार्यक्रम र बजेटको तयारी सोही अनुसार गरेको हो ।

गाउँपालिका भित्रका सबै शिक्षकको हातहातमा ल्यापटप उपलव्ध गराई प्रविधिको प्रयोगवाट अध्यापन गर्ने वातावरण बनाइने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । गतवर्ष संचालन गरिएको विद्यार्थी दुर्घटना बीमामा यस वर्ष शिक्षक,कर्मचारी समेत थपिने गरि योजना बनेको उनले बताए ।

दिवा खाजा कार्यक्रमले निरन्तरता पाउने छ । विद्यार्थीसंग करेसावारी, किशोरीहरुको लागि आत्मरक्षा तालिम र विद्यालयमा योग स्रोत शिक्षकको व्यवस्थापन कार्यक्रम ल्याउने तयारी रहेको छ ।

यसका साथै गाउँपालिकाले कोभिड १९ को संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा प्राथमिकता दिने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए । उनले गाउँपालिमामा संचालन रहेको ५/५ वेडको आइसोलेसन अस्पतालको स्तरवृद्धि गरि दश/दश वेडको अस्पताल बनाउने योजना अघि बढेको बताए ।

अस्पतालमा आवश्यक औषधी तथा उपकरण सामाग्री खरिदका लागि बजेट रहने छ । गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रको विकास र युवा सहभागिता बढाउन पँच वटा भैसी पाल्ने किसानलाई अनुदान,कोभिडका कारण रोजगार गुमाएका युवालाई कृषिमा स्वरोजगार कार्यक्रमको तयारी गरेको गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् ।

स्मार्ट कृषि कार्यक्रममा साझेदारी, उत्पादनमा आधारित अनुदानका साथै कृषिमा दिदै आएको व्याज अनुदान कार्यक्रमले निरन्तरता पाउने उनले बताइन् । असार १० गते पेश हुने नीति, कार्यक्रम तथा बजेटको अधिंकासं तयारी सकिएको उनले बताइन् । पालिकामा रहेका विषयगत समितिको बैठक सहित राजनितिक दलका प्रमुख तथा प्रतिनिधिसंग समेत आगामी वर्षको बजेट वारे छलफल गरिसकेको जनाएको छ ।

रम्भा गाउँपालिको ५ वडामा ५० लाखका दरले बजेट सिलिङ्ग पठाएर योजना संकलनको काम भैरहेको छ । कोभिडका कारण स्वास्थ्य मापदण्ड अपनाई प्रविधिको प्रयोग र ससाना भेला गरि योजना संकलन गरिएको वडाध्यक्ष तथा प्रवक्ता कृष्णप्रसाद रेग्मीले बताए । सडक, पूर्वाधार, खानेपानी लगायत अन्य शीर्षकका योजना तथा कार्यक्रममा भने चालु आर्थिक वर्षको अनुपातमा बजेट ल्याइने प्रवक्ता रेग्मीले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय