पूर्वखोलाको प्राथमिकता स्वास्थ्य र पशुपालन

पाल्पा । पूर्वखोला गाउँपालिका नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । गाउँपालिकाले विगतमा स्वास्थ्यको क्षेत्रमा धेरै बजेट खर्च गरेको छ । स्वास्थ्यको क्षेत्रका साथै कृषि, पशुपालनलाई बढी जोड दिइएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । विषयगत समितिको बैठक सकिएको र अब कार्यपालिकाको बैठक बसेर समष्टिगत रुपमा बजेट तयार गर्ने उनले बताए ।

विगत निरन्तरता दिइने र गाउँमा स्वास्थ्य सचेतना दिइने उनले बताए । गाउँका महिला, आमा समूहलाई स्वास्थ्य चेतना फैलाउनका लागि बजेट खर्च हुनेछ भने सामुदायिक स्वास्थ्य इकाईका लागि बढी जोड दिइने उनले बताए । फरक विषय भन्दा पनि पूराना कार्यक्रमलाई थप प्रभावकारी बनाइने गाउँपालिका अध्यक्ष थापाले बताए । कोभिड १९ लाई बढी ध्यान दिइने छ । जल्पा, बीरकोट र सिलुवामा ल्याब सेवा दिएको र आगामी वर्ष पूर्वखोलामै ल्याब सेवाको तयारी पनि रहेको उनले बताए ।

पशुपालनका क्षेत्रमा बाख्राको स्रोत केन्द्र बनाउने योजना गाउँपालिकाको रहेको छ । व्यक्ति र व्यवसायिकलाई स्रोत केन्द्र स्थापनाको तयारी रहेको छ । यसलाई नै प्रवद्र्धन गरेर अघि बढ्ने अध्यक्ष थापाले बताए । त्यसका लागि जल्पा, सिलुवामा बाख्राको स्रोत केन्द्र बनाउने योजना रहेको उनले बताए । यसवर्ष नीति तथा कार्यक्रम र बजेटमा सडकको स्तरोन्नति गर्ने योजना पनि बनेको उनले बताए ।

पहाडी भेडमा सडक खनेपनि नाली र ग्राभेल जरुरी भएकाले यसमा पनि जोड दिने गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् । उनका अनुसार कालोपत्रको पूर्वाधार बनाउनेतर्फ बजेटले प्राथमिकता दिइनेछ । हिउँदमा काम गर्ने र वर्षायाममा बगाएरलैजाने समस्या समाधान गर्ने योजना रहेको छ । आवश्यक चौडाई भएपछि आवागमन नरोकिने भएकाले पनि यसतर्फ ध्यान दिइने छ । पूर्वखोला गाउँपालिकामा ठूला योजना कमै रहेको छ ।

सडक र खानेपानीकै योजना रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए । संघीय सरकारसँग समन्वय गरेर १ करोड खर्च गर्ने गरी गाउँपालिका भवनको निर्माणको काम अघि बढेको उनले बताए । गाउँपालिका वडाका लागि ७० बजेट सिलिङ् रहेको छ भने ५० करोड भित्र रहनेछ । नीति तथा कार्यक्रम र बजेट पेश असार १० गते नै हुने गाउँपालिकाका प्रवक्ता नीरबहादुर सारुले बताए ।

सम्बन्धित खवर