तानसेन नगरपालिकाको बजेट १ अर्ब १५ करोड !

पाल्पा । मुलुककै पूरानो नगरपालिका तानसेनको आगामी आर्थिक वर्षको बजेट कम्तीमा १ अर्ब १५ करोड बराबरको आउने भएको छ । जिल्लाकै सबै भन्दा धेरै बजेट ल्याउने स्थानीय तह तानसेन नगरपालिका हो ।

आगामी वर्ष चुनाबी वर्ष पनि हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब १२ करोड ८९ लाख थियो । अघिल्लो आर्थिक वर्षको अनुमानित प्रशासनिक खर्च मात्रै ११ करोड ५० लाख थियो ।

असार १० गते नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीका अनुसार बजेटको आकारमा केही तलमाथि हुनसक्छ । तरयसवर्ष ८ करोडको घाटा बजेट हुने सम्भावना पनि बढेको छ।

नगरप्रमुख शाहीका अनुसार तानसेन नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य र प्रविधिमैत्री शिक्षालाई जोड दिनेछ ।

आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेटका विषयमा स्थानीय संचारमाध्यमका सम्पादक तथा अगुवा पत्रकारहरुको भेटमा नगरप्रमुख शाहीले कोभिड १९ को व्यवस्थापन गर्नुका साथै नगरवासीको सहज स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने कार्यक्रम ल्याउने बताए ।

उनले कोभिड महामारीका कारण शिक्षा संकटमा परेकाले सर्वसुलभ र समयानुकुलको प्रविधिमैत्री शिक्षाका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याइने बताए । नगरपालिकाको नवौं नगरसभा प्रक्रियासम्मत ढंगले संसदीय अभ्यासअनुरुप सञ्चालन हुनेछ ।

गतवर्षदेखि सुरु भएको कोरोना भाइरस संक्रमण (कोभिड—१९) को असर नसकिदै यो वर्ष पनि कोरोनाको दोस्रो लहरका कारण विकास निर्माणको कामले अपेक्षाकृत ढंगले गति लिन नसकेको उनले बताए । चालु आर्थिक वर्षको पछिल्लो भौतिक प्रगति र खर्चको अवस्था सन्तोषजनक रहेको नगरप्रमुख शाहीले जानकारी दिए ।

नगरवासीको जीवनरक्षालाई प्रमुख प्राथमिकता दिई हामीले वडास्तरमा कोरोना परीक्षण र संक्रमित बिरामीलाई अक्सिजनसहितको आइसोलेसनमा राखी सामथ्र्य अनुसार उपचार लगायतका यथासक्य कामहरु गरेको उनले बताए । कोरोनाबाहेकका स्वास्थ्य समस्यालाई पनि नियमितरुपमा सम्बोधन गरिआएका उनले बताए ।

कोरोनाको लहर समाप्त नभइसकेको कारण पूर्वतयारी स्वरुप अक्सिजनसहितको सामूदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि वजेटको व्यवस्था गर्न लागेको जानकारी नगरप्रमुख शाहीले दिए । यस कार्यका लागि आन्तरिक स्रोत व्यवस्थापनबाहेक हेफर इन्टरनेसनल नेपाल लगायतका संघसंस्था तथा निजी क्षेत्रले समेत सरसहयोग गरिसकेको र अन्यले समेत प्रतिवद्धता जाहेर गरेको मेयर शाहीले बताए ।

मुलुक संघीय संरचनामा गएपश्चातको पहिलो निर्वाचनयता तानसेन नगरपालिकाबाट कानुन निर्माण लगायत विकास निर्माणलाई समेत अगाडि बढाएको बताउँदै पछिल्ला वर्षमा विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण विकासनिर्माणका काम अवरुद्ध हुन पुगेको उपप्रमुख लक्ष्मीदेवी पाठकले बताइन् ।

नगरपालिकाले दलित, अल्पसंख्यक, विपन्न नागरिक, सरसफाइकर्मी र स्वास्थ्य स्वयसेविकाहरुको लागि निशुल्क स्वास्थ्य वीमा कार्यक्रम (करीव १ हजार ७ सय जनालाई नियमित), घरघरमा स्वास्थ्य सेवा अभियान, छोरी शिक्षा कार्यक्रम, कृषि एम्बुलेन्स सेवा, युवा स्वरोजगार कार्यक्रम, वैधानिक दस्तावेज हाम्रो तानसेन त्रैमासिक प्रकाशन, डिजिटल प्रोफाईल र नगर बृहत योजना तयारी गरेको उनले बताइन् ।

आवश्यक स्थानीय ऐन कानून निर्माण तथा प्रकाशन, सहकारी नियमन तथा सबलीकरण, नेपाल पत्रकार महासंघ पाल्पा शाखासहित स्थानीय सञ्चारगृह सबलीकरणलगायत प्रमुख कार्यहरु अगाडि बढाएको उनले बताइन् । नगरस्तरीय तथा ग्रामीण वडाहरु लक्षित सडक पहुँचका लागि सडक विस्तार र स्तरबृद्धि, रिङ्गरोड योजना सञ्चालन, कलाकृति र संस्कृतिको संरक्षण, सांस्कृतिक सहर पूर्वाधार कार्यक्रम (शीत्तलपाटी देखि सिलखानटोल ढुङ्गा छपाई), एक वडा एक कि.मी. पक्की सडक अभियान, पैदल सडकहरु ढलानको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बताए ।

बसपार्क निर्माणका लागि पूर्वाधार तयार, टुँडिखेलको स्तरोन्नति, औद्योगिक ग्राम निर्माण, विग बुद्ध परियोजनाको थालनी, कृषि उपज संकलन केन्द्र निर्माण, फोहरबाट उर्जा कार्यक्रम लगायतका कार्यहरु सञ्चालन गरिएकोे उनले बताए । आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र वजेट तर्जुमाको क्रममा स्वास्थ्य, सर्वसुलभ र थप प्रविधिमैत्री शिक्षा, युवा स्वरोजगार, व्यवसायिक कृषि र रोजगारउन्मुख पर्यटन कार्यक्रम, पूर्वाधार लगायतका अन्य विषयगत क्षेत्रहरु समेत प्राथमिकतामा रहेको छ ।

तानसेन नगरपालिकाले सम्वृद्ध तानसेनलाई सहयोग पुग्नेगरी युवा स्वारेजगार, व्यवसायिक कृषि, रोजगारउन्मुख पर्यटन सहित सडक र पूर्वाधार विकासका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने नगरप्रमुख शाहीले बताए । चालु आर्थिक वर्षका भएका योजना तथा तथा कार्यक्रमवारे प्रवक्ता दामोदर प्रसाद घिमिरेले जानकारी गराए ।

उनले नगरपालिकाले सबैको सहयोग र सहकार्यमा शिक्षा, स्वास्थ्य सहित सामाजिक विकासमा उल्लेख्य काम गरेको जानकारी गराए । पत्रकार महासघ जिल्ला अध्यक्ष रेखीराम रानाले तानसेन नगरपालिकाले अन्य स्थानीय तहले भन्दा मिडियालाई फरक तरिकाले सहयोग गरेको बताए । उनले विकासलाई पनि नागरिकले महशुस गर्नेगरी गर्न अनुरोध गरे ।

सम्बन्धित खवर