निस्दीमा खानेपानी र विद्युतलाई प्राथमिकता

पाल्पा । निस्दी गाउँपालिकाले आर्थिक वर्ष २०७८/८९ का खानेपानी र विद्युतलाई प्राथमिकता दिने भएको छ । गाउँपालिका कार्यालय मित्यालले आगामी वर्षको नीति,कार्यक्रम तथा बजेट तयारी गरिरहेको समयमा पालिकाको जनाताको माग र आबश्यकतालाई ध्यानमा राखेर योजनाको प्राथमिकीकरण गरेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी कृषि,पशुपालन र सिंचाईमा पनि प्राथमिकताका साथ योजनाहरु निर्माण गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । उनका अनुसार आबश्यकताका आधारमा गर्ने पर्ने योजनाहरु तर्जुमा गरिने बताए । गाउँपालिका अध्यक्ष सारुका अनुसार कोभिड नियन्त्रण, शिक्षा स्वास्थ्य र स्वरोजगारका विषयमा समेत योजना बन्ने छ । चालु अवस्थामा रहेका सम्पन्न हुन बाकी योजनाले पनि निरन्तरता पाउने छन् ।

गाउँपालिकामा अहिले सम्म राजश्व परामर्श र स्रोत अनुमान समितिको बैठक सकिएको छ । विषयगत समितिमा छलफल तथा बैठक पनि भैरहेको छ । पालिका भित्रका वडाहरुवाट योजना संकलनको काम भैरहेको गाउँपालिकाकी उपाध्यक्ष रिता खनाल अर्यालले
बताइन् ।

पालिका भित्रका प्रत्यक वडामा करिव ५० लाख बराबरको बजेट सिंलिंग तोकेर योजना संकलन गर्न भनिएको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताए । उनका अनुसार बजेट र योजनाको प्राथमिकता अनुसार वडाले काम गरिरहेको छ ।

गाउँपालिकाले विभिन्न विषयगत समितिको बेठक, योजना संकलन तथा ढाँचमा राख्ने काम सकेर आगामी असार १० गते गाउँ सभामा नीति कार्यक्रम तथा बजेट पेश गर्ने योजनाका साथ काम भएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार व्यबस्था भएको स्थानीय तहले आगामी वर्षको बजेट चालु आर्थिक वर्षको असार १० भित्र पेश गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय