पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम असार ७ गते ल्याउने तयारी गरेको छ । कोभिड १९ रोकथाम, उपचार तथा व्यवस्थापनाका साथै आर्थिक वर्ष २०७८÷८९ को नीति, कार्यक्रम तथा बजेटको तयारीमा लागिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । उनले असार ७ गते नीति तथा कार्यक्रम ल्यषउने र असार १० गते गाउँसभामा बजेट पेश हुने गरी काम भएको जानकारी दिए ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोभिड १९ र कृषिलाई प्राथमिकता दिएर बजेट ल्याउने जनाएको छ । कोरोना भाइरसबाट प्रभावित पालिकावासीलाई सहयोग हुने प्रकृतिका योजना र कृषि क्षेत्रको विकास,प्रोत्सहान र स्वरोजगारका योजनामा आउने छन् । जसका लागि वडावाट प्राप्त योजनाका आधारमा ठोस योजना तथा कार्यक्रम तय हुने छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा संचालन भएका र पूराभैनसकेका योजनाको निरन्तरताका साथै शिक्षा,स्वास्थ्य,सडक,पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा गत वर्षकै प्रकृतिका योजना ल्याउने छ । अहिले सम्म राजश्व परामर्श समिति, स्रोत अनुमान तथा अन्य विषयगत समितिको बैठक सम्पन्न भएको छ ।
कोभिड १९ का कारण सामाजिक दुरी कायम गरि वडामा करिव ५० लाख देखी ६५ लाखसम्मको प्राथमिकताको मापदण्डका आधारमा योजना संकलन गर्न निर्देशन गरिएको गाउँपालिका उपाध्यक्ष चेत कुमारी थापाले बताइन् । वडामा सर्वदलीय समयन्त्रको सहभागितामा योजना छनौटको काम गरिएको वडाध्यक्षहरुको भनाई छ ।
गाउँपालिकामा अहिले कामको चापाचाप रहेको छ । एकातर्फ कोभिड व्यवस्थापन,अर्कोतर्फ विकासे कामको फरफारकका साथमा तोकिएको समयसीमा भित्र बजेट ल्याउनु पर्ने भएकोले व्यस्तता रहेको प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले बताए । रैनादेवी छहरा गाउँपालिकाको चालु आर्थिक वर्षको विकास योजनाको करिव ६५ प्रतिशत काम सकिएको उनले बताए ।