
पाल्पा । माथागढी गाउँपालिका कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी तीव्र रुपमा भैरहेको छ । आर्थिक वर्ष २०७८/८९ मा कोरोना महामारीवाट प्रभावितहरुका लागि सहयोग हुने गरी बजेटको तयारी भएको हो ।
पालिका भित्र कोरोना प्रभावित जनता र गाउँपालिकाको सम्भावना भएको कृषि र पशुपालनमा प्राथमिकता दिएर नीति,कार्यक्रम तथा बजेटक निर्माणका लागि चरणवद्ध रुपमा काम भैरहेको गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले जानकारी दिए ।
उनका अनुसार कोरोनाका कारण समस्यामा रहेका युवाहरुलाई कृषि र पशुपालनमा सहभागिता जनाउन प्रोत्साहन गरिने छ । यसका साथै पालिकामा चालु अवस्थामा रहेका सम्पन्न गर्नुपर्ने योजनाको निरन्तरताका साथै स्वास्थ्य,शिक्षा, पूर्वाधारण विकासका लागि जनताको माग र आबश्यकतालाई ध्यानमा राखेर योजना तथा बजेट ल्याइने अध्यक्ष थापाको भनाई रहेको छ ।
आगामी वर्षका लागि चालु आर्थिक वर्षको असार १० भित्र स्थानीय तहले नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गर्नुपर्ने स्थानीय सरकार संचालन ऐन २०७४ को व्यवस्था अनुसार पालिकाले समय सीमा भित्र बजेट पेश गर्ने तयारी गरेको प्रमुख प्रशसकीय अधिकृत राजु नेपालले बताए ।
उनका अनुसार अहिले चालु आर्थिक वर्षको गतिविधिका विषयमा समिक्षा,स्रोत अनुमान सकेर विषयगत समितिको बैठक भैरहेको छ । गाउँपालिका भित्रका वडाहरुमा योजना संकलनको काम संचालन भैरहेको छ । कोभिड १९ का कारण स्वास्थ्य मापदण्ड अपनाई प्रतिनिधिमूलक जनताको सहभागितामा योजना संकलनको काम भैरहेको गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले बताइन् ।
वडामा संकलन भएका र अन्य पालिका स्तरीय योजनाहरु असार २ गते सम्म पालिकाले ढाँचमा तयार गरि असार ३ गतेको कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने तयारी रहेको छ । वर्षायामको समय भएका कारण अन्य कुनै समस्या नभए प्रकृयागत रुपमा असार ६ गते गाउँसभामा नीति कार्यक्रम तथा बजेट पेश गरिने समेत छ ।