तिनाउमा भैसीको पाडापाडी र बाख्रा बितरण

पाल्पा । तिनाउ गाउँपालिकाका किसानलाई भैँसीको पाडापाडी र बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत उनीहरूलाई पाडापाडी वितरण गरिएको हो । गाउँपालिकाका वडा नम्बर २ र ५ का किसानलाई पाडापाडीसहित बाख्रा र बंगुर वितरण गरिएको हो । मुख्यमन्त्री कार्यक्रमको करिब ४२ लाख बजेटबाट खरिद गरेर वितरण गरिएको छ ।

२ नम्बर वडाको मिलिजुली टोलविकास संस्थाका २० जना किसानलाई पाडा वितरण गरिएको छ। झ्याङ्ला र बगाहाका ३२ जना किसानलाई पाडी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । उनका अनुसार वडा नम्बर ५ का किसानलाई पनि पाडापाडी वितरण गर्ने तयारी भइरहेको छ ।

८० प्रतिशत अनुदानमा पाडा र पाडी वितरण गरिएको उनले बताए । पाडा र पाडीलाई सरदर १६ हजार रुपैयाँमा खरिद गरिएको छ । उनका अनुसार बोलपत्र आह्वान गरेर नवलपरासीबाट खरिद गरेर गाउँपालिकाले पाडापाडी ल्याएको हो ।

हरियाली गाउँ, सुकेतालका किसानलाई बाख्रा वितरण गरिएको छ । खुर्साने, बडहरे, माराबासमा बंगुर वितरण गरिएको वडा नम्बर २ का वडाध्यक्षसमेत रहेका श्रेष्ठले बताए । वडा नम्बर ५ को मरामकोट पाताल, बिस्कुनडाँडा, भोक्तेछाप र कोलडाँडाका किसानलाई पनि पाडापाडी, बाख्रा र बंगुर वितरण गर्ने कार्यक्रम रहेको छ ।

बाख्रा र बंगुर भने पूर्णरुपमा अनुदानमा दिइनेछ। अति विपन्न किसानलाई आयआर्जनमा टेवा पुगोस् भनेर पशुपालनमा सहयोग गरिएको हो । यहाँका किसानले राँगा पालेर मनग्य आम्दानी गरेका छन्। उन्नत जातको बाल राँगाबाट सिजनअनुसार दैनिक २ हजार कमाउँदै आएका छन् ।

मासुका लागि राँगा बिक्री गर्दै आएका किसानले पनि राम्रो आम्दानी गरेको श्रेष्ठले बताए । यहाँका अधिकांश नागरिक पशुपालन गर्दै आएका छन्। परम्परागत रुपमा पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो कार्यक्रमले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।

यस गाउँपालिका प्राकृतिक वन जंगलले भरीपूर्ण छ । पशुपालनको लागि यहाँ प्रशस्त घाँस र चरिचरण गर्ने ठाउँ रहेका उनले बताए। यस गाउँपालिकालाई मासु, दूध र तरकारीमा आत्मनिर्भर बनाउने गरी गाउँपालिकाले कार्यक्रम संचालन गरिरहेको घर्तीमगरले बताए ।

यसअघि गाउँपालिकाले यहाँका विभिन्न वडाका किसानलाई घारसहित मौरी गोला वितरण गरेको थियो। किसानको मागअनुसार गाउँपालिकाले सहयोग गरेको घर्तीमगरले बताए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय