पाल्पा । अविरल वर्षासँगै खसेकाे पहिराेले एक जनाकाे मृत्यु भएकाे छ भने सिद्दार्थ राजमार्गकाे गाैडे पुल नजिकै पहिराेले सडक बगाएकाे छ । उता कालीगण्डकी नदीकाे उच्च बहाव भएपछि रिडी, राम्दी, रूद्रवेणी, रानीमहल लगायतका स्थानमा पानीकाे सतह धेरै माथि पुगेकाे छ । कालीगण्डकी मिर्मिस्थित कालीगण्डकी जलविद्युत परियाेजनाकाे ढाेका खाेलेपछि रिडी क्षेत्र जलमग्न भएकाे हाे ।
पाल्पामा अविरल वर्षासंगै पहिरोले घर पुर्दा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका वडा नं. ४ मन्छिपका १९ वर्षीय मदन भट्टराई रहेको प्रहरीले जनाएको छ । वर्षासंगै घरमाथि पहिरो खसेपछि घाईते भएका उनलाई उपचारका लागि पाल्पा अस्पतालमा पुर्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । अन्य सदस्यकाे प्रहरी र स्थानियको पहलमा तत्काल उद्दार गरिएको प्रहरीले जनाएको छ ।्
अविरल बर्षासंगै बढेको डुम्रे खोलाले सिदार्थ राजमार्ग अन्तरगत गौडेपल नजिकैको सडक नै बगाएको छ ।
लगातारको वर्षाले बगेकाे डुम्रे खाेलाले सडकको तल्लो भागमा कटान गर्दा मुख्य सडक नै बगाएको हो । सिद्दार्थ राजमार्गकाे तानसेन नगरपालिका, ८ गाैडेपुल नजिकै अघिल्लाे वर्षदेखि खसेकाे पहिराेले यसवर्ष पुनः क्षति पुगेकाे हाे । अघिल्लाे वर्ष खसेकाे माटाे पन्छाउन नसक्दा यसवर्ष सडककाे जग देखि नै बगाएकाे छ । पुरूवा माटाेमा खाेला बढेपछि जग देखि नै बगाएकाे छ ।
सोही स्थानमा माथिबाट पहिरो भर्ने क्रम समेत नरोकिएको सडक डिभिजनले जनाएकाे छ । मंगलबार सडकको तल्लो भागबाट खोलाले कटान गर्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको सडक डिभिजन पाल्पका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । उनका अनुसार नयाँ ट्रयाक खाेल्नु पर्ने भएकाले केही समय लाग्ने छ ।
गएरातीदेखि अवरुद्ध सडक संचालनका लागि बुटवलदेखि स्काभेटर मगाएर सडक सुचारु गर्ने तयारी भएको सूचना अधिकारी खत्रीले बताए । पानी पर्ने क्रम नरोकिएको हुँदा सडक सुचारु गर्न समय लाग्ने सडक डिभिजनले जनाएको छ । बुधबार काम भएपनि यसलाइ नयाँ ट्रयाक निकाल्नु पर्ने भएकाले सकिएकाे छैन ।
यस्तै सोही राजमार्गको कालीमाटी ,चर्चरे क्षेत्रमा समेत पहिरो झर्ने क्रम जारी रहेको छ । सडकमा तराइ र पहाडबाट गन्तव्यमा हिडेका सवारी साधन बीच बाटाेमै अलपत्र छन् ।
सिद्धार्थ राजमार्गकै रम्भा गाउँपालिका–३, पिपलडाँडास्थित सेरा र सीता पहाडमा समेत पहिराले राजमार्ग बन्द हुने र खुल्ने क्रम जारी छ। सेरामा माथि कालीगण्डकी करिडाेरकाे सडक छेउबाट लेदोसहितको माटो आउनेक्रम रोकिएको छैन। सीता पहाडमा एक पटक पहिरो पन्छाए पनि पुनः खस्ने क्रम राेकिएकाे छैन । कालीगण्डकी करिडाेरकाे पनि ठाउँठाउँमा पहिराे खसेकाे छ । फेरि पनि झर्ने खतरा रहेको राम्दी प्रहरी चौकीका हवल्दार रामहादुर केसीले बताए। उनका अनुसार केही समय अघिदेखि यहाँ एकतर्फी सवारी सञ्चालन भएका छन्।
यस्तै, तानसेन–गुल्मी सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका–३, खस्याैली, मालमुलमा पहिराले सडक अवरुद्ध भएको छ। गएराति देखिनै सडक अवरुद्ध भएको हार्थोक प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले बताए। उनका अनुसार माथिबाट पहाड नै खसेकाले सडक सञ्चालन गर्न कठिन भइरहेको छ। पहिरो पन्छाउने काम भइरहेको उनले बताए। सडक अवरुद्ध हुँदा बिरामी बोकेका एम्बुलेन्ससहित कैयौं सवारी साधनर यात्रु बीच बाटोमै अलपत्र परेका छन्। अविरल वर्षा भइरहेकाले पहिरो पन्छाउन समय लाग्ने उनले बताए।
आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड पनि अवरुद्ध छ। रम्भा गाउँपालिका–४, हुमिन बजार नजिकै पहिराले सडक अवरुद्ध भएको ताहुँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भोला कुँवरले बताए। सडक तीन दिनदेखि अवरूद्ध भएको उनले बताए। यस सडकखण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो गएको छ। रामपुर नगरपालिकाअन्तर्गत जबगादीक्षेत्रमा पनि पहिराले सडक अवरुद्ध भएको छ। ग्रामीण भेगका प्रायः कच्ची सडक पहिरो र खोलाले अवरुद्ध भएका छन्।
अविरल वर्षासंगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि रुरु क्षेत्रधाममा जलमग्न भएको छ । नदीमा पानीको बहाव बढेपछि शव दाह सस्कार गर्न समेत समस्या भएको छ ।तीन जिल्लाको संगलस्थल रुरु क्षेत्रमा पानीको सतह बढेपछि ऋषिकेश मन्दिरको प्रवेशद्वार भित्रसम्म नदी प्रवेश गरेको स्थानीयले बताएका छन् ।
उता निर्माणाधीन तीनमुखे झोलुङ्गे पुल समेत ढुवानमा परेको प्रहरीले जनाएको छ । यस्तै नदीको बगर क्षेत्र पूर्ण रुपमा ढुवानमा हिजो मात्रै दाहसस्कार गर्दे गरेको चिहान समेत नदीले बगाएको थियो । नदीको सतह बढेपछि नदी किनाराको रुख र टहराहरु समेत डुबाएको छ । पानी पर्नेक्रम नरोकिएको हँदा मन्दिरसंगै अन्य सो क्षेत्रका बस्तीहरु समेत जोखिममा परेको स्थानीयले बताएका छन् । कालीगण्डकी र बराङदी खहरेखोला बढेपछि रानीमहल क्षेत्र समेत ढुवानमा परेको छ । स्थानीय बसन्त कुवंरले दिएको जानकारी अनुसार रानीमहल क्षेत्रमा निर्माण गरिएका आधा दर्जन टहराहरु पूर्ण रुपमा डुवानमा परेका छन । रानीमहलमा डिभिजन वनले बनाएकाे पार्कसम्म नै पानीकाे सतह पुगेकाे छ । राम्दी, केलादी क्षेत्रमासमेत पानीकाे बहाब बढेकाे छ ।