ज्यामिरेको नर्सरीमा ५० हजार टिमुर

पाल्पा,डिभिजन वन कार्यालयले आर्थिक वर्ष ०७७/७८ को प्रदेश सरकारको कार्यक्रम अन्तरगत निस्दी गाउँपालिकाको ज्यामिरेमा रहेको पोखरीछापमा जडिबुटी नर्सरी स्थापना गरिएको छ ।

कृतृक डाँडा कबुलियती वन समुहले डिभिजन वन कार्यालयको अनुदान सहयोगमा नर्सरी स्थापना गरेको हो । नर्सरीबाट ५० हजार गोटा टिमुरको बिरुवा उत्पादन गरेको वन उपभोक्ता समूहले जनाएको छ । जडिबुटीजन्य उद्यम प्रबर्द्धनमा सहयोग पुराउने उद्देश्यले कबुलियती वन समुहलाई करिव १९ लाख रुपैया अनुदान सहयोग उपलब्ध गराएको डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बताए ।

नर्सरीको स्थायी संरचना सहित बिरुवा उत्पादन,नर्सरी घर र शौचालय निर्माण गर्ने कार्यक्रम समेत रहेको डिभिजन वन कार्यालयका रेन्जर पोखरेलले बताए । नर्सरीले विपन्न वर्ग सहभागी कबुलियती वनका उपभोक्ताहरुलाई जडिबुटी उद्यम मार्फत आयआर्जनमा सहयोग पुग्ने कार्यालयले विश्वास लिएको छ ।

वन समूहले गरेको कामको डिभिजन वन कार्यालय,पाल्पाका डिभिजनल वन अधिकृत मोहन प्रसाद पौडेल , सहायक वन अधिकृत मदन सापकोटा र लेखा अधिकृत प्रकाश कुमार कार्की सहितको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा वन अधिकृत मोहन प्रसाद पौडेलले जडिबुटी नर्सरिबाट पुर्बी पाल्पाका कबुलियती वन समुहका उपभोक्ताहरुलाइ आय आर्जनमा सहयोग पुग्ने बताए । उनले निजि जग्गा,कबुलियती वन र सामुदायिक वन उपभोक्ता समूहहरुलाई खेती नभएको जग्गामा आयमुलक जडिबुटी खेती गर्न सुझाब समेत दिएका छन् ।

सम्बन्धित खवर