पाल्पा (करुवा), पाल्पाका स्थानीय तहलाई विपद् व्यवस्थापन र कोभिड नियन्त्रण गर्न राहत वितरण गरिएको छ । स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्नका लागि हेफर ईन्टरनेशनल नेपालले राहत दिएको हो । तानसेनमा आयोजित कार्यक्रममा तानसेन नगरपालिका, रिब्दीकोट, रैनादेवीछहरा, माथागढी र रम्भा गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण गरिएको हो । दुई नगरपालिका र ८ वटा गाउँपालिका सहित पाल्पाका १० वटा स्थानीय तहलाई महामारी विरुद्धको अभियानका लागि सहयोग गरिएको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले जानकरी दिए ।
स्थानीय तहमा रहेका स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण अक्सिजन खरिद, पिसिआर किट तथा एन्टिजेन किट खरिद, पिपिई, औषधि लगायतका सरसमान खरिदको लागि सहयोग रकम दिइएको हो । तानसेन नगरपालिकालाई ४० लाख, रिव्दीकोट, तिनाउ, रम्भा, पूर्वखोला गाउँपालिका र रामपुर नगरपालिकालाई १५÷१५ लाख दिइएको हेफर नेपालका कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेयले जानकारी दिए । माथागढी गाउँपालिकालाई १० लाख, बगनासकाली गाउँपालिका लाई ४ लाख ५० हजार र रैनादेवीछहरा गाउँपालिका को लागि ४ लाख ५० हजार रुपैया प्रदान गरिएको साझेदार संस्था ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले जानकारी दिए ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले नगरपालिकालाई प्राप्त सहयोगबाट शहरी सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि रकम खर्च गरिने बताए । उनले शहरी सामुदायिक स्वास्थ्य केन्द्रमार्फत कोरोनाको अर्काे लहरका लागि आइसोलेसन सेन्टर बनाउन प्राप्त सहयोग खर्च गरिने बताए ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा र रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीलाई सहयोगी सामाजिक उद्यमी सहकारी संस्थाका प्रतिनिधिसहित सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । पाल्पामा दोस्रो भेरियन्टको सक्रमण र मृत्यु दर उच्च रहेकाले कोभिडबाट बच्न र बचाउन स्थानीय सरकारलाई सहयोग गरिएको स्थानीय साझेदार संस्था ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निदेर्शक लिला बहादुर कार्कीले जानकारी दिए ।
कार्यक्रममा पछौटेपन उन्मुलन समाज बेस नेपालका कार्यकारी निदेर्शक शालिकराम पाण्डेय, इन्द्रेणी समाज केन्द्रका कार्यकारी निदेर्शक रुद्र मश्राङगी, सामाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पाका कार्यकारी निदेर्शक चोपलाल गिरी, मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारी लागयतले कोरोना महामारीमा जनतालाई थोरै भएपनि राहत पुग्ने बताए ।