
दोस्रो लहरको कोरोना संक्रमण बढेपछि थप संकट निम्तियो । बिरामी हुने दर बढ्यो । अस्पताल भरिए । अक्सिजनको अभाव भयो । बेड पाउन मुस्किल प¥यो । यस्तो महामारी रोक्न व्यक्ति, संस्था र देश विदेशमा बस्नेको सहयोग महत्वपूर्ण छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले पाल्पा अस्पताललाई दुई वटा कन्सन्ट्रेटर प्रदान गरेको छ । कन्सन्ट्रेटर बाहेक १४ सेट पिपिई, एन नाइन्टीफाइभ मास्क ५० पिस, ग्लोव्स एक प्याक, मेडिकल मास्क २ हजार पिस, शव राख्ने ब्याग ४ सेट पाल्पा अस्पताललाई दिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील मीना पन्थीले तानसेन, माथागढी, बगनासकालीका आइसोलेसनमा पुगेर पौष्टिक आहार दिइन् । अमेरिकामा बस्ने पाल्पालीहरुले २० वटा अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, गुल्कोमिटर लगायत पठाए । कालीगण्डकी फाउन्डेसन, नेपाल रामपुरले भारतमा रहेका अन्तरर्ाष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाको सहयोगमा पाँच स्थानीय तहसहित दुई अस्पताललाई कोभिड १९ विरुद्ध जुध्न ५ सय पिपिई सेट र ५ हजार मास्क वितरण गरिएको छ ।
माथागढी रुपन्देही सम्पर्क समाजबाट माथागढी गाउँपालिकालाई कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि १० वटा अक्सिजन सिलिन्डर रिफिल गरिदिएको छ । पाल्पा सिमेन्ट ईन्डस्ट्रिज प्रालिबाट ५ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । मनकारी मन भएकाहरुले मिसन अस्पताल, रैनादेवी छहरा कोभिड अस्पताल र रामपुर अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र तिनका कुरुवाहरुलाई खाना खाने व्यवस्था भएको छ । तानसेनको मिसन अस्पताल र रैनदेवी छहरा कोभिड अस्पतालमा सामाजिक स्रोत विकास केन्द्र नेपालले निःशुल्क खाना खुवाइरहेको छ । सामाजिक स्रोत केन्द्र नेपालले मिसन अस्पताललाई ३ सय एन्टिजेट किट, मास्क, सेनिटाइजर, पिपिई सेट, अक्सिमिटर लगायतका सामाग्री दिएको छ । मिसन अस्पताल कोभिड वार्ड बिरामी र कुरुवाका लागि ६ लाख साथै रैनादेवी छहराकालागि ५ लाख बराबरको खाना खुवाइरहेका छन् ।
रामपुरमा पनि कोरोना संक्रमित बिरामीका रामपुर युवा क्लबले बिहान साँझको खुवाएको छ । बगनासकाली गाउँपालिका, दर्लमडाँडाका वडासदस्य टोप बहादुर न्यौपानेले आफ्नो नीजि गाडीमा आफै चलाएर कोरोना संक्रमितलाई बोक्दै आएका छन् । पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादवसिंह कार्कीले पनि नीजि सवारी साधनमा कोरोना संक्रमित र शव बोकेर सहयोग गरेका छन् । संकटका बेला लायन्स, रोटरी क्लबले पनि सहयोग गरेका छन् । बाहिर देशमा बस्नेहरुको पनि सहयोग जारी नै छ । महामारी र संकटका बेला फैलिएका हातहरु अझ् फैलिइरहोस् । नागरिकको स्वास्थ्यका लागि अझै पनि सहयोगी बन्दै जाउन् । मनकारीहरुलाई साधुवाद ।







