कोरोना संक्रमितका लागि स्वास्थ्य सामाग्री सहयोग

पाल्पा । पहिलो लहरको कोरोना भाइरस संक्रमण र रोकथामका लागि स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको तानसेनस्थित सामाजिक स्रोत विकास केन्द्र नेपालले यसपटक पनि विपन्न समुदायमा पुगेर सहयोग गरेको छ ।
रैनादेवी छहराको भुवनपोखरी, सिद्देश्वरका साथै बगनासकाली गाउँपालिकाको चिर्तुङधारा, पोखराथोकका विपन्न तथा कुमाल समुदायमा पुगेर स्वास्थ्य सामाग्रीका साथै राहत बितरण गरेको हो । चिर्तुङधाराका कोरोना संक्रमति र दैनिक ज्याला गरेर गुजारा गर्ने परिवारसम्म पुगेर राहतका साथै स्वास्थ्य सामाग्री बितरण गरेको हो ।
संक्रमित विपन्न परिवारमा खाद्यान्न सहयोग, पल्स अक्सिमिटर, सेनिटाइजर, मास्क, साबुन लगायतका सामाग्री बितरण गरेको सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले बताए । उनका अनुसार कतिपय परिवारले खाद्यान्न भएन र भोकै बस्नुपर्ने भन्ने सूचनाको आधारमा सम्बन्धित वडाको जनप्रतिनिधिको समन्वयमा बितरण गरिएको छ ।
सामाजिक स्रोत विकास केन्द्र नेपालले एक्सनएड नेपालको सहयोगमा रैनादेवी छहरा गाउँपालिकको सहकार्यमा कोभिड १९ को संक्रमण रोकथाम र असर न्यूनिकरणका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
रैनादेवी छहरा गाउँपालिका अन्तर्गतको कोभिड अस्पतालका लागि पिपिई सेट २०, ग्लोब्स १० प्याकेट, फेस सिल्ड सय, सेनिटाइजर १० लिटर, मास्क ३० प्याकेट, अक्सिमिटर १० वटा, मेडिकल बेड २ थान, सेनेटरी प्याडक १ सय २० प्याकेट सहयोग गरेको छ । त्यस्तै भुवनपोखरी र सिद्देश्वरका लागि २ सय प्याक कोभिड १९ सुरक्षा प्याक प्रदान गरिएको छ । २ सय प्याक सुरक्षा प्याकमा मास्क, फेससिल्ड, सेनिटाइजर, थर्ममिटर, अक्सिमिटर, सेनेटरी प्याडक, साबुन टाबेल लगायतका सामग्री रहेको छ । भुवनपोखरीका लागि सय प्याक सुरक्षा सामाग्री रहेको छ । सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक गिरीका अनुसार सुरक्षा प्याकभित्र मास्क, अक्सिमिटर, सेनिटाइजर, टावेल, साबुन, सेनेटरी प्याड लगायतका सामाग्री रहेको छ ।
जसबाट संक्रमितका लागि १०÷१५ दिनसम्मका लागि कसैको भर पर्नु पर्दैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले गाउँपालिकाले संचालन गरेको कोभिड अस्पताल र दुई वडाका लागि आएको सामाग्रीले ठूलो राहत पुग्ने बताए । कोभिड संक्रमण रोकथामका लागि गाउँपालिका भित्रका नागरिकले ५ लाख ७४ हजार बराबरको सामाग्री सहयोग गरेकामा गाउँपालिकका प्रवक्ता विष्णु प्रसाद पोखरेलले धन्यवाद दिए ।
प्रवक्ता पोखरेलले अघिल्लो लहरमा पनि स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाले पुनः साथ र सहयोग दिँदा गाउँपालिकाका नागरिकका लागि कोरोनासँग लड्न थप बल पुग्ने बताए । भुवनपोखरीका वडाध्यक्ष लालबहादुर दर्लामीले संक्रमितको परिवारसम्म स्वास्थ्य सामाग्री लगेर दिन पाउँदा स्वास्थ्यकर्मी र जनप्रतिनिधिका लागिसमेत ठूलो राहत पुगेको बताए । सिद्देश्वरका वडाध्यक्ष सोमबहादुर दर्लामीले स्वास्थ्य सामाग्रीको किट लिएर पुग्दा नागरिकमा आत्मवल पुग्ने र यसबाट कोरोना नियन्त्रणमा थप बल पुग्ने बताए ।

सम्बन्धित खवर