अमेररिकामा बस्ने पाल्पालीले गरे २० वटा कन्सन्ट्रेटर सहयोग

पाल्पा । कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर पाल्पाली संगम अमेरिकाले सहयोग गरेको छ । पाल्पाली संगमका अमेरिकाका संयोजक महेश भट्टराईको संयोजकत्वमा अगाडि बढेको सहयाेग अभियान अन्तर्गत पहिलो चरणमा पाल्पाका स्थानीय तह र पाल्पा अस्पताललाई २० वटा कन्सन्ट्रेटर सहयोग गरेको हो ।

अमेरिकाबाट पठाएको सहयोग पाल्पाली संगम, काठमाडौले संयोजन गरेर पाल्पासम्म पठाउने व्यवस्था गरेको थियो । स्वास्थ्य कार्यालयमा बिहिबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख नारायण प्रसाद चौधरी र सूचना अधिकृत ओमप्रकाश पन्थीले कन्सन्ट्रेटर सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरे । पाल्पा अस्पताल र रामपुर अस्पतालका लागि दुईदुई वटा साथै तानसेन नगरपालिका अन्तर्गत बन्दीपोखरा, मदनपोखरा, अर्गली स्वास्थ्य चौकीका लागि एकएकवटा कन्सन्ट्रेटर दिइएको छ । तिनाउ गाउँपालिकाको कोभिड अस्पताल, माथागढीको देउगीरस्थित कोभिड अस्पतालका साथै कसेनी, चिदीपानी र रुप्से स्वास्थ्य चौकीका लागि पनि एकएक वटा दिइएको छ ।

बगनासकाली गाउँपालिका अन्तर्गत पोखराथोक कोभिड अस्पतालका साथै पोखराथोक र नायरनमतलेस स्वास्थ्य चौकीलाई पनि कन्सन्ट्रेटर दिइएको छ । रिब्दीकोट गाउँपालिका अन्तर्गतको खस्यौली कोभिड अस्पताल र पालुङमैनादी स्वास्थ्य चौकी, रैनादेवी छहरा गाउ“पालिकाको छहरा स्वास्थ्य चौकी कोभिड अस्पताल र रम्भाको ताहुँ कोभिड अस्पतालका लागि एकएक वटा कन्सन्ट्रेर दिइएको छ ।

हस्तान्तरण कार्यक्रममा रैनादेवी छहरा गाउँपालिका अध्यक्ष राम बहादुर कार्की, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसी, बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल लगायतले महामारीका बेलामा यसरी विदेशमा बस्ने पाल्पालीले कन्सन्ट्रेटर दिएर जन्मभूमि प्रतिको अगाध माया दर्शाएकामा सहयोग गर्ने पाल्पाली संगम अमेरिका र संयोजन गर्ने पाल्पाली संगम काठमाडौलाई धन्यवाद दिएका छन् । बांकी रहेको रकमबाट अन्य स्वास्थ्य उपकरणका साथै स्वास्थ्य सामाग्री प्रदान गरिने पाल्पाली संगम काठमाडौका अध्यक्ष पदम न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खवर