
पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट तीन करोड रुपैयाँ स्वीकृत भएको छ । अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थमन्त्रालयले बजेट स्वीकृत गरेको हो ।
कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरूको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले पाल्पा अस्पताललाई रकम सुनिश्चित गरेको नेकपा एमाले पाल्पाका अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पाल्पाली जनताको स्वास्थ्य सेवामा सहज पहुँचका लागि पाल्पा अस्पतालको सेवा प्रभावकारी बनाउन आबश्यक बजेट विनियोजन गराउनमा जिल्लाका तिनै तहका जनप्रतिनिधिहरुको सकारात्मक सहयोग रहेको बताए ।
जिल्लामा कोरोना प्रभावितहरुका लागि आबश्यक उपचार कक्ष नहुँदा समस्या हुँदैं आएको छ । पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले आइसीयु कक्ष आबश्यक रहेको भनि मन्त्रालयमा माग गरिएको बताए । उनले प्राप्त बजेटबाट आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न आबश्यक पूर्वाधार निर्माण र सामग्री खरिद प्रकृया प्रचलित कानून अनुसार तत्काल अगाडि बढाउने बताए ।
अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था हुँदा जटिल बिरामीको उपचारमा सहज हुने अस्पतालका प्रमुख जगदिश कुँवरले बताए । तर अस्पतालमा आबश्यक विषेशज्ञ र तालिमप्राप्त जनशक्ति अभाव भएकोले यस विषयमा पनि सोच्नु पर्ने प्रमुख कुवँरको भनाई छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अक्सिजन प्लान्ट निर्माणका लागि पाल्पा अस्पतालको मागका आधारमा अर्थमन्त्रीले विष्णु प्रसाद पौडेलले तत्काल अक्सिजन प्लान्टको स्थापना गर्न १ करोड ५० लाख बजेट स्विकृत गरेका थिए । तर अस्पतालमा प्राप्त बजेटको काम अहिले सम्म सुरु हुन सकेको छैन् ।
अक्सिजन अभावमा बिरामी मर्नुपरेको समयमा प्राप्त बजेटको काम सुरु नहुँदा पाल्पालीहरुले गुनासो गरेका छन् । एक कारोड भन्दा बढीको बजेट कार्यान्वयनका लागि प्रदेश सरकारको स्वीकृत आबश्यक हुनेभएकोले टेण्डर प्रकृयामा ढिला भएको अस्पतालका प्रमुख कुवँरको भनाई छ । अन्य कागजपत्र तयारी अवस्थामा रहेको र प्रदेशको स्वीकृती आउना साथ टेण्डर हुने अस्पतालले जनाएको छ ।








