पाल्पा । तानसेन नगरपालिकाले त्रिभुवन बहुमुखी क्याम्पसमा संचालनमा ल्याएको अक्सिजनसहितको आइशोलेशनमा कोरोना संक्रमित बिरामी भर्ना गरिएको छ ।
आइशोलेशनमा कोरोना भाइरस संक्रमित भर्ना भएर उपचार सुरु भएको तानसेन नगरपालिका नगरप्रमुख अशोक कुमार शाहीले बताए । आइशोलेशनमा पर्याप्त अक्सिजन, डाक्टरसहितको स्वास्थ्यकर्मीे, औषधी लगायतको राम्रो ब्यवस्थापन गरेपछि संक्रमित बिरामी राख्न थालिएको उनले बताए । ‘सुविधा सम्पन्न आइशोलेशन सञ्चालनको लागि पर्याप्त तयारी चाहिने भएकोले आइशोलेशन सञ्चालन गर्न ढिला भएको हो,’ उनले भने, ‘कसैलाई भन्न सजिलो होला तर काम गर्न समस्या नै छ ।’
तत्कालका लागि सन्चो हेल्थ केयर प्रालिका संचालक डा. झपेन्द्र ढकालको निगरानीमा आइशोलेशन संचालन भएको हो । यसमा तानसेन नगरपालिकाका स्वास्थ्यकर्मी, नेपाली सेना गोरखदल गणका प्यारामेडिक्स टीमले सेवा दिने उनले बताए । अक्सिजनको अभाव हुन नदिन तानसेन नगरपालिकाले जिल्लाका प्रतिनिधिसभा, प्रदेससभा सदस्य, प्रमुख जिल्ला अधिकारी, अस्पताल लगायतका अन्य सरोकारवालासँग थप छलफल निरन्तर गरेको नगरप्रमुख शाहीले बताए । नगरबासीको सुरक्षाको लागि नगरपालिका संवेदशील रहेको उनले बताए । तानसेन नगरपालिकाले त्रिभुवन बहुमुखी क्याम्पसमा तत्कालका लागि १० बेडको अक्सिजन सहितको आइशोलेशन सञ्चालन गरेको छ । सोही स्थानमा अक्सिजन नजोडेका थप १० बेड पनि आइसोलेसन संचालनमा छ ।