पाल्पा । पाल्पा अस्पताल र तानसेन नगर सरकारले संयुक्त रुपमा अक्सिजनयुक्त आइसोलेसन कक्ष निर्माण गरेका छन् ।
पाल्पा अस्पतालमा २० बेड र त्रिभुवन बहुमुखी क्याम्पसमा २० बेडको आइसोलेसन बनाएका छन् ।
अस्पतालमा संक्रमित बिरामीको चाप बढ्न थालेपछि तानसेन नगर सरकारको सहयोगमा अक्सिजन सहितको आइसोलेसन कक्षा निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।
अस्पतालमा यस अघि जम्मा ४ वटा आइसोलेसन शैया (अक्सिजनयुक्त) रहेका थिए । अस्पतालको एउटा कक्षमा शैया निर्माण गरी पाइप लाइनमार्फत अक्सिजनको व्यवस्था मिलाइएको छ । यस अघि अस्पताल भित्र कोरोना संक्रमितको उपचार गरिदैन थियो ।
यहाँबाट पाइने कुनैपनि उपचारमा कमी हुन नदिने उनले बताए । अब कोरोना संक्रमण भएका बिरामीको उपचारका लागि अक्सिजन अभाव नहुने गरी काम गरेको अध्यक्ष पाण्डेको भनाई छ । उनका अनुसार अहिले ६ जना कोरोना संक्रमित बिरामीको उपचार अस्पतालभित्रै भईरहेको छ ।
अस्पतालले गत वर्षदेखि कोभिड–१९ परीक्षण प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ । तानसेन स्थित काजीपौवामा रहेको प्रयोगशालामा पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मीका स्वाब परीक्षण हुँदै आएको छ । त्यस्तै कोरोना संक्रमितका लागि त्रिभुवन बहुमुखी क्याम्पसमा समेत अक्सिजन सुविधा सहितको थप २० बेड तयार गरिएको छ ।
तानसेन नगरपालिकाको आर्थिक लगानी र पाल्पा अस्पतालको प्राविधिक सहयोगमा अक्सिजन सहितको आइसोलेसन कक्षा निर्माण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए ।
उनका अनुसार गम्भीर प्रकृतिका बिरामीहरु लाई पाल्पा अस्पतालमा राखेर उपचार गरिने छ भने सामन्य किसिमका संक्रमितहरुलाई क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार गरिने छ ।