मिसन र रामपुर अस्पतालका संक्रमितलाई निःशुल्क खाना

पाल्पा । मिसन अस्पताल र रामपुर अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र तिनका कुरुवाहरुलाई खाना खाने व्यवस्था भएको छ । तानसेनको मिसन अस्पतालमा सामाजिक स्रोत विकास केन्द्र नेपालले र रामपुर युवा क्लबले रामपुर अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र उनका कुरुवालाई खाना खुवाउने व्यस्था गरेको हो ।

सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीका अनुसार कोरोनाका कारण अस्पतालमा भर्ना भएका विरामीहरु र कुरुवाहरुको लागि एक महिनासम्म खाना खाने व्यवस्था मिलाइएको छ । अस्पताल भित्रै रहेको क्यान्टिनबाट सबै विरामीहरुलाई एक दिनको चार सय सम्मको खाना खर्च सस्थाले तिरेर खाना खाने व्यवस्था मिलाएको हो।

उनका अनुसार कोरोना संक्रमितहरुलाई होटलवालाले पनि खाना खुवाउन डराउने र कुरुवाहरुहरु वाहिर खानाको व्यवस्था गर्न जाँदा कोरोना संक्रमण बढ्न सक्ने भएकोले खाना खुवाउने व्यवस्था मिलाएका हो । महासंकटको वेला कतिपय आर्थिक रुपमा पनि कमजोरहरु हुनुहुन्छ, मानविय नाताले र कोरोना संक्रमण थप नफैलियोस भन्ने हिसावले हामीले खाना खाने व्यवस्था मिलाएको उनले बताए ।

अहिले मिसन अस्पतालमा २० देखि २४ जनासम्म कोरोना संक्रमितहरु उनका कुरुवा हुने मिसन अस्पतालका कार्यकारी निर्देशक डा. रचेल कारखले बताए । रैनादेवी छहरा गाउँपालिकाले संचालन गरेको कोरोना अस्पतालमा पनि सामाजिक स्रोत विकास केन्द्रले खाना खाने व्यवस्था मिलाएको जनाएको छ ।

रामपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निशुल्क खाना खुवाउन सुरु गरिएको छ । कोरोना सङ्क्रमित बिरामीका लागि होटल व्यवसायीले खाना खुवाउन नमानेपछि रामपुर युवा क्लबले बिहान साँझको खुवाउन थालेको हो । अस्पतालको आइसोलेशनमा रहेका बिरामी, बिरामीका कुरुवा, उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारी गरी नौ जनालाई निशुल्क खाना खुवाउन सुरु गरिएको रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरैले बताए ।

अस्पताल आसपासमा रहेका होटल व्यवसायीले आफुहरुमा पनि सङ्क्रमण सर्ने डरले खाना खुवाउन अस्वीकार गरेको बिरामीका आफन्तले बताएका छन् । टाढाका बिरामीलाई घरबाटै खाना पकाएर अस्पतालसम्म ल्याउन अप्ठ्यारो स्थिती र होटलहरुले पनि खाना खुवाउन नमानेको बिरामीका आफन्तले गुनासो पोखेपछि हामी आफैले अस्पतालमा खानाको व्यवस्था गरिदिएको क्लबका सचिव सुन्दर कंडेलले बताए ।

रामपुर युवा क्लबका सदस्य तथा होराइजन डेण्टल क्लिनिक रामपुरका संचालक डाक्टर शंकर श्रेष्ठ, क्लबका सदस्यहरु सन्दिप गौतम र गोबिन्द भट्टराई लगायतको टोलीले बिहिवार साँझ बिरामीलाई लिएर गएको खाना अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारलाई हस्तान्तरण गरे ।

जनशक्ति अभावका कारण तत्काल खानाको व्यवस्थापन गर्नका लागि अप्ठ्यारो परेको अवस्थामा क्लबले गरेको कार्य प्रति रामपुर अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर परियारले धन्यवाद दिए । अस्पतालले आफ्नै व्यवस्थापनमा निर्माणाधिन ५० शैयाको भवनमा १० शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष तयार पारेको छ । अस्पतालले आफ्नै व्यवस्थापनमा तीस वटा अक्सिजन व्यवस्था गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय