रम्भामा कोरोना तयारी

पाल्पा । रम्भा गाउँपालिकाले कोरोनाको तयारी बढाएको छ । रम्भा गाउँपालिकाले कोरोना अस्थायी अस्पताल २ वटा निर्माण गरेको छ । रम्भाको हुँगी र ताँहुमा आइसोलेसन केन्द्र निर्माण गरिएको छ । यस गाउँपालिकामा कन्ट्रयाक्ट ट्रेसिङमा परेकाको स्वाब संकलन गरी पीसीआर र एन्टिजेन परीक्षण गर्ने कामलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए ।

हुँगीथित जनकल्याण माध्यमिक विद्यालयमा पाँच र ताहुँस्थित रम्भा माध्यमिक विद्यालयमा अक्सिजनयुक्त पाँच बेड तयार भएको उनले बताए । उनका अनुसार आइसोलेसन केन्द्रमा डाक्टर नै उपलब्ध हुनेछन् । एउटा केन्द्रमा २ जना स्टाफ नर्स र एक कार्यालय सहयोगी चौविसै घण्टा बस्नेछन् ।

स्वास्थ्यकर्मी घरघरमा पुगेर कोरोना संक्रमितका स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । न्यून आर्थिक अवस्था भएका संक्रमित व्यक्तिको उपचार खर्च गाउँपालिकाले ब्यहोर्नेछ ।

गाउँपालिकादेखि अक्सिजनसहित बिरामीलाई अस्पतालसम्म गाउँपालिकाले नै पु¥याउने उनले बताए । कोरोना संक्रमितको मृत्यु भएमा शव व्यवस्थापनको खर्च गाउँपालिकाले नै बेहोर्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताए । दैनिक २ वटा गाडीमा गाउँगाउँ पुगेर माइकिङमार्फत सचेतनामूलक सन्देश प्रवाह गरिरहेको उनले बताए ।

रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका कोरोना सङक्रमितहरुको आइशोलन खर्च व्यहोर्ने जनाएको छ । रम्भाले कोरोना बिरामी र उसको १ जना कुरुवाको आईशोलनमा बस्दाको लागेको खर्च व्यहोर्ने निर्णय गरेको रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले बताए ।

रम्भा गाउँ कार्यपालिकाको बैठकले कोरोना सङक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई किरीया खर्च वापत ५० हजार रुपैयाँ समेत दिने निर्णय गरेको प्रवक्ता रेग्मीले बताए ।

मृतकको शव व्यवस्थापन खर्च र किरीया वापत ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । गाउँपालिकाको विभिन्न स्थानमा कोरोना सङक्रमितहरु बढेका कारण थप सतर्कताका लागि जनसमुदायलाई सजग गराउने पहल गर्नपर्ने भएको छ ।

रम्भा गाउँपालिकाको संवेदनशील क्षेत्रहरु पहिचान भएका छन् । जसमा वडा नं. १ को असेर्दी, संगाहा र साविक वडा नं. ७, वडा नं. ३ को अंगाहाखोला र हाकडाँडा र वडा नं. ५ को बजारक्षेत्र रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै ९ जना स्वास्थ्यकर्मीहरुमा सङक्रमण देखिएको छ ।

रम्भा गाउँपालिकाले संवेदनशील क्षेत्रमा सार्वजनिक गतिविधीहरुमा थप सतर्कता अपनाउने, दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, जोखिममा भएका स्वास्थ्यकर्मीहरुलाई २ वटा गाडीहरु व्यवस्था गर्ने निर्णय गरेको छ ।

रम्भा गाउँपालिकामा जम्मा ८६ जना सक्रिय सङक्रमित भएका छन् । केहीको रिपोर्ट आउन बाँकी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय