
पाल्पा । पूर्वखोला गाउँपालिकाले वडा नम्बर ३ को पूर्वखोलास्थित पूरानो बोर्डिङ स्कुललाई कोरोना अस्थायी अस्पताल बनाएको छ । यहाँ ५ बेड संघीय सरकार र ५ बेड आफ्नै लगानीमा आइसोलेसन तयार गरिएको छ ।
रम्भा र पूर्वखोला मिलेर ताँहुस्थित रम्भा माविमा आइसोलेसन खोलेपनि यहाँ विद्यालयबाट हटाएपछि त्यहाँ रहेका सामाग्री प्रयोग गरेर आइसोलेशन बनाइएको गाउँपालिका स्वास्थ शाखा प्रमुख मोहन ढकालले बताए ।
यहाँ चिकित्सकसहित दुई स्टाफ नर्स र एक जना कार्यालय सहयोगी थिए । तर अहिले चिकित्सकको दरबन्दी खाली छ । दुई स्टाफ नर्स र कार्यालय सहयोगी साथै आवश्यक परेमा अन्य स्वास्थ्यकर्मीले पनि सेवा दिने शाखा प्रमुख ढकालले बताए । उनका अनुसार संक्रमितलाई आवश्यक परे अक्सिजनको पनि व्यवस्था गरिएको छ । साथै अन्य स्वास्थ्यका सामाग्रीहरु पनि रहेको छ ।
यसैबीच, पूर्वखोला गाउँपालिकाले नयाँ भेरिएन्टसहितको कोरोनाको दोस्रो लहर चलेको हुँदा कोरोना संक्रमण रोकथाम र नियनत्रणका लागि प्रयास थालेको छ ।
पालिकाले सूचना जारी गर्दै भारत तथा तेस्रो मुलुकबाट पालिकाभित्र प्रवेश गर्ने नागरिकले २४ घण्टा भित्रको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने, भीडभाड हुने खालका कुनै सभासम्मेलनमा रोक लगाउने, विभिन्न सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गराउने निर्णय गरेको स्वास्थय शाखा प्रमुख ढकालले बताए ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने तथा कोरोनासंग मिल्दो लक्षण देखिएका व्यक्तिका लागि पालिकाले निर्माण आइसोलेशनमा उपचारको व्यवस्था समेत गरिएको ढकालले बताए ।
पूर्वखोला गाउँपालिका भित्रका अधिकांश मानिस रोजगारीका लागि भारतका विभिन्न स्थानमा रहेको हुँदा उक्त स्थानबाट आएका नागरिकमार्फत समुदायमा संक्रमण बढ्न सक्ने भएको हुँदा स्वास्थ्य मापदण्डको पालना नगरिएको पाईएमा संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।