स्थानीय तहमा कोरोना जाँचमा वेवास्ता

पाल्पा । स्थानीय तहले यसवर्ष कोरोना भाइरस संक्रमण परीक्षणमा वेवास्ता गर्दै आएका छन् । पछिल्लो समय जिल्लामा कोरोना संक्रमण भुसको आगो सरह फैलिरहेको छ । तर यसमा स्थानीय तहका स्वास्थ्य शाखा भने कामै नगरिकन बसेका छन् । केही दिनअघि माथागढी, देउगीर क्षेत्र शील गर्नु पर्ने गरी कोरोना फैलियो । तर त्यहाँ परीक्षण हुन नसकेको स्थानीयको गुनासो छ । ताँहु, अर्चले, आर्यभन्ज्याङ लगायतका क्षेत्रमा पनि अवस्था उस्तै छ ।

केही सातायता औसतमा ५० भन्दा माथि संक्रमित थपिने क्रम जारी छ । केही दिनअघि ९३ जना नयाँ कोरोना संक्रमित थपिए । ८६ जना पनि थपिए । स्वास्थ्य कार्यालयका अनुसार ९७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भयो । यतिमात्र होइन ४८ जनामा एन्टिजेन परीक्षणमा २० जनामा संक्रमण देखिएको छ । बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका अनुसार १६ जनाको एन्टिजेन गर्दा ११ जनामा पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तहले परीक्षणमा यसपटक वेवास्ता गर्दै आएका छन् । कतिपय स्थानीय तहलाई एन्टिजेन स्वास्थ्य कार्यालयबाट पनि दिइएको छ । तर उनीहरुले एन्टिजेन परीक्षणमा समेत चासो नदिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । रामपुर नगरपालिका क्षेत्रमा उस्तै समस्या छ । निस्दी, पूर्वखोला, रिब्दीकोट, तिनाउमा पनि अवस्था उस्तै छ । यसअघि पहिलो लहरमा क्वारेन्टाइन, आइसोलेशन बनाएपनि यसपटक त्यमास पनि कुनै चासो दिएका छैनन् ।
कोरोनासँग नडराएको जस्तो व्यवहार हुँदै आएको छ । रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीका अनुसार पहिला जस्तो त्यति धेरै डर, त्रास भएको पाइएको छैन । तर स्थानीय तहले गर्नुपर्ने काम गरेको उनले बताए । रिब्दीकोटको आइसोलेसनमा एक जना बिरामी बसेका छन् । अरु होम आइसोलेशसनमै छन् । अक्सिजन दिनुपर्नेलाई मात्र आइलोलेसनमा ल्याइएको उनले बताए । स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीका अनुसार यसअघि विभिन्न प्राविधिक कारणले नभएपनि अब आरटिपिसिआर र एन्टिजेन परीक्षणको काम अघि बढ्छ ।

जिल्लामा दिनहुँ संक्रमणको दर तीव्र गतिमा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्ला सहित पाल्पालाई यस अघि नै संक्रमणको उच्च जोखिमको सूचीमा राखेको थियो । १० स्थानीय तहमध्ये तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिका,रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिका बढी प्रभावित देखिएका छन् । अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ । स्थानीय सरकार र नागरिक दुवैका कमजोरीले जिल्लामा संक्रमणको उच्च जोखिम रहेको छ ।

कोरोनाको पहिलो चरणको सुरुवातमा एक ÷दुई जनामा कोरोना संक्रमण देखिएपछि एकाएक आत्तिएको पाल्पा अहिले शान्त छ । दिनहुँ संक्रमित देखिँदा समेत पनि स्थानीय निकायले केही गरेका छैनन् । कुनै समय भने अताल्लिएर आफ्नो क्षेत्रमा शिल गर्दै आएका थिए । अहिले केही छैन । संक्रमित थपिने थपियोस् । मर्ने मरोस् । कसैलाई मतलब छैन । संक्रिय संक्रमित २ सय नाघेपछि स्थानीय प्रशासनले गत वैशाख १७ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । त्यो बाहेक संक्रमण नियन्त्रणका उपायहरु भने अवलम्वन गरिएको छैन । यसअघि हटस्पट बन्ने खतरा भएका जिल्लाहरुमा संक्रमित घट्दै गइरहेका छन् । तर पाल्पामा भने बढ्दै गइरहेका छन् । संक्रमितको दैनिक विवरणलाई हेर्दा पनि यहाँको स्थिति भयावह हुन सक्ने निश्चित छ ।

तिनाउ गाउँपालिका झुम्साका वडाध्यक्ष प्रेमबहादुर पाण्डेयका अनुसार पहिलो लहरमा जतासुकै पिसिआर परीक्षणको लहर चल्यो । यसपटक जतासुकै बिरामी हुँदासमेत कसैलाई वास्ता छैन । यसले गर्दा पनि गाउँगाउँमा परीक्षण भएको छैन । बिरामी जतासुकै छन् । बिरामी भएकालाई पनि कोही कसैले वास्ता गरेको छैन । तानसेन नगरपालिकाले अर्गली, तानसेन, दमकडा लगायतका स्थानमा एन्टिजेन परीक्षण गरेको छ । स्वास्थ्य शाखा प्रमुख झवीन्द्र न्यौपानेका अनुसार क्वारेन्टाइन, आइसोलेशन आफ्नो क्षमतामा नभएको तर परीक्षणमा भने माग आए अनुसार भइरहेको छ । रैनादेवी छहराले पनि १ सय ५० बढी आरटिपिसिआर गरेको छ । स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार कर्मचारी खटाउन समस्या थियो । अब बिस्तारै समस्या समाधान हुने भएको छ । पिसिआर र एन्टिजेन परीक्षणलाई तीव्रता दिइने उनले बताए ।

सम्बन्धित खवर