जिल्लाका दुई स्थानीय तहले कोरोना भाइरस संक्रमितका लागि नमुनायोग्य काम गरेका छन् । बगनासकाली गाउँपालकाले घरघरमै पुगेर स्वास्थ्य सामाग्री सहयोग गरेको छ भने रामपुर नगरपालिकाले रामपुर अस्पतालमा ३५ बेडको अक्सिजनसहितको आइसोलेशन निर्माण सुरु गरेको छ । बगनासकाली गाउँपालिकाले संक्रमितका घरघरमा पुगेर स्वास्थ्य सामाग्री बितरण गरेको हो । कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेका संक्रमितहरुको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । बगनासकाली गाउँपालिकाले कोरोना संक्रमितलाई शक्तिबर्धक औषधीहरु, भिटामिन बी, भिटामिन सी, जिंक चक्की, चेवनप्रास, सिटामोल, आवश्यकता अनुसार एन्टिबायोटिक औषधीहरु वितरण गरेको छ । ज्वरो नाप्ने डिजिटल थर्मोमिटर, अक्सिजन र पल्स चेक गर्न पल्सअक्सिमिटर, माक्स र सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।
कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेकाहरुको स्वास्थ्यउपचारका लागि गाउँपालिकाले घरमै सेवा दिन थालेका हुन् । घरमै बसेकाहरुले ज्वरो देखी, अक्सिजन समेत घरमै मापन गर्न सकुन र शक्तिप्रद्र्धक औषधीहरु खाएर निको गराउने उदेश्यले घरमै सेवा दिएको हो । गाउँपालिका भरीका ९ जना कोरोना संक्रमितहरुको घरमै पुगी स्वास्थ्य सामाग्री वितरण गरेको छ । रामपुर अस्पतालमा ३५ वटा वेड थप गर्ने निर्णय गरेको छ । नगरभित्रका स्वास्थ्य संस्थामा ५ वेडको आइसोलेसन वेड तयार गर्ने निर्णय भएको छ । रामपुर अस्पतालमा ३५ वेड तयार गर्नका लागि नगरपालिकाले सम्पूर्ण खर्च बेहोर्ने छ । औषधीको लागि प्रदेश सरकारलाई आग्रह गर्ने र प्राविधिक सहयोग अस्पतालका स्वास्थ्यकर्मीहरुबाट प्रदान गर्ने छ । बगनासकाली र रामपुरले गरेको यी उदाहरणीय कार्य हुन् । हुन त माथागढीले १० बेड, रम्भाले १० बेड तयारी गरेका छन् । रिब्दीकोटमा पनि ५ बेड अक्सिजनसहितको कोरोना अस्पताल छ ।
संघीय सरकारले अघिल्लो वर्षमै पठाएको १० लाख बजेटबाट निर्माण गरेका आइसोलेशन अस्पताल नभएको होइन । ५ बेडका ती अस्पताल अस्तव्यस्त थिए । राखेका कर्मचारी पनि अन्यत्र काममा लगाइएको थियो । कतिपयमा मेडिकल अधिकृत छन् भने कतिपयमा विज्ञापन गर्दा पनि आएनन् । पूर्वखोलामा मेडिकल अधिकृत केही समय बसेर अहिले पुनः खाली छ । तर स्थानीय तहले भारत लगायत मुलुकका विभिन्न भागबाट आएकाहरुलाई घरमै पठाएका छन् । उनीहरुलाई होल्डमा राखिएको छैन । क्वारेन्टाइन छैन । आइसोलेशन छैनन् । अहिलेसम्म पाल्पा जिल्लाभर स्थानीय तहले निर्माण गरेको आइसोलेशन अस्पतालमा एक दुई जना मात्र बसेका छन् । लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालले सबै भार बेहोर्नु परेको छ । कोरोना परीक्षणसमेत राम्रोसँग हुन सकेको छैन । स्थानीय तहले सक्रियता नदेखाउनुको कारण के हो भन्ने विषयमा सरोकारवालाको ध्यान जान सकोस् ।