तानसेन र पाल्पा अस्पताल बीच छलफल

पाल्पा,तानसेन नगरपालिका र पाल्पा अस्पताल बीच कोरोना संक्रमण रोकथामका विषयमा छलफल भएको छ ।

पछिल्ला दिनमा तानसेन र अस्पतालमा कोभिड १९ संक्रमणको ग्राफ उकालो लागेकोले तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाही र पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेको नेतृत्वमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका विषयमा छलफल भएको हो ।

छलफलमा उपप्रमुख लक्ष्मीदेवी पाठक ,जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले नगरपालिकाले पाल्पा अस्पताललाई १२ अक्सिजनसहितको बेड निर्माण गर्न आवश्यक सहयोग गर्ने बताए ।

छलफलमा नगरपालिकाका कोरोना संक्रमितलाई उपचार गर्न अस्पताल व्यवस्थापनका लागि सहयोग दिने निर्णय भएको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताए ।

पाल्पा अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १८ वटा अक्सिजन सहितको वेड तयार गर्ने काम भैरहेको छ । जसमा पाइपलाइन विस्तारको काम सकिएको अध्यक्ष पाण्डेले बताए ।

करिव एक हप्ता भित्र अक्सिजन सुविधा सहितको वेड तयार हुने उनको भनाई छ । यसमा थप हुनेगरि नगरपालिकाले १२ बेडका लागि आर्थिक सहयोग गर्ने छ । जसअनुसार अस्पतालमा ३० बेड अक्सिजन सेवा सहितको वेड हुने अस्पताल स्रोतले जनाएको छ ।

नगरभित्र भारतबाट आएका नागरिकहरुलाई वडावडामा निगरानी बढाउने, स्वास्थ्यकर्मीमार्फत् सचेतना अभियान संचालन गर्ने, संक्रमितको नजिकका मानिसहरुको कन्ट्रयाक्ट ट्रेसिङ बढाउने लगायतका विषयमा छलफल भएको तानसेन नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर