पाल्पा । जिल्लाका दुई स्थानीय तहले कोरोना भाइरस संक्रमितका लागि नमुनायोग्य काम गरेका छन् । बगनासकाली गाउँपालकाले घरघरमै पुगेर स्वास्थ्य सामाग्री सहयोग गरेको छ भने रामपुर नगरपालिकाले रामपुर अस्पतालमा ३५ बेडको अक्सिजनसहितको आइसोलेशन निर्माण सुरु गरेको छ ।
बगनासकाली गाउँपालिकाले संक्रमितका घरघरमा पुगेर स्वास्थ्य सामाग्री बितरण सुरु गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । गत बैशाख १३ गते गाउँकार्यपालिकाको निर्णय अनुसार संक्रमितहरुको घरमै पुगी स्वास्थ्य सामाग्री वितरण सुरु गरिएको हो । विहीबार देखी कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेका संक्रमितहरुको लागि स्वास्थ्य सामाग्री वितरण गरेको उनले बताए ।
बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणीराम अधिकारीका अनुसार बगनासकाली गाउँपालिकाले कोरोना संक्रमितलाई शक्तिबर्धक औषधीहरु, भिटामिन बी, भिटामिन सी, जिंक चक्की, चेवनप्रास, सिटामोल, आवश्यकता अनुसार एन्टिबायोटिक औषधीहरु वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले बताइन् ।
त्यसैगरी ज्वरो नाप्ने डिजिटल थर्मोमिटर, अक्सिजन र पल्स चेक गर्न पल्सअक्सिमिटर, माक्स र सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गरिएको उनले बताइन् । बगनासकाली गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीका अनुसार कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेकाहरुको स्वास्थ्यउपचारका लागि गाउपालिकाले घरमै सेवा दिन थालेको बताए । ।
घरमै वसेकाहरुले ज्वरो देखी, अक्सिजन समेत घरमै मापन गर्न सकुन र शक्तिप्रद्र्धक औषधीहरु खाएर निको गराउने उदेश्यले घरमै सेवा दिएको उनले बताए । गाउँपालिकाभरीका ९ जना कोरोना संक्रमितहरुको घरमै पुगी स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।
स्वास्थ्य सामाग्री वितरणसंगै ज्वरो तथा खोकी लागेका विरामीहरुलाई आवश्यकता अनुसार एन्टिबायोटिक औषधीहरु र स्वास्थ्य परामर्श दिइएको छ । बगनासकाली गाउँपालिकाको कार्यपालिका वैठकले कोरोना संक्रमितहरुको उपचार सहज र सर्वसुलब बनाउन घरमै स्वास्थ्य उपचार गराउने निर्णय गरेको थियो ।
गाउँपालिकाका अनुसार कार्यपालिकाको निर्णय अनुसार अक्सिजन सिलिण्डर आइसकेको छ । अक्सिजन सिलिण्डर आइसकेको र कोरोना अस्पताल निर्माण सकिन लागेको छ । बेड लगायतका सबै सामाग्री आइसकेको छ । केही दिनमै अक्सिजन सहितको कोरोना अस्पताल सुरु हुने गाउँपालिकाले जनाएको छ ।
कोभिड १९ संक्रमण फैलिदै गएपछि रामपुर नगरपालिकाले ढिलै भएपनि तयारी थालेको छ । कार्यपालिका बैठकले रामपुर अस्पतालमा ३५ वटा वेड थप गर्ने निर्णय गरेको छ । नगरभित्रका स्वास्थ्य संस्थामा ५ वेडको आइसोलेसन वेड तयार गर्ने निर्णय भएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिलाले जानकारी दिए ।
रामपुर अस्पतालमा ३५ वेड तयार गर्नका लागि नगरपालिकाले सम्पूर्ण खर्च बेहोर्ने छ । औषधीको लागि प्रदेश सरकारलाई आग्रह गर्ने र प्राविधिक सहयोग अस्पतालका स्वास्थ्यकर्मीहरुबाट प्रदान गर्ने निर्णय भएको उनले बताए । रामपुर अस्पताल २० वटा अक्सिजन सिलिण्डर अहिले थप गरिसकेको छ ।
नगरपालिकाले आवश्यक ५० वटा सिलिण्डरको लागि सहयोग गर्ने नागिलाले बताए । नगरभित्रका स्वास्थ्य चौकीहरुमा पाँच÷पाँच वेडको आइसोलेसन वेड तयार गर्ने उनले बताए । बाहिरबाट आएका नागरिकलाई कम्तीमा १० दिन होम क्वारेन्टाईनमा राख्ने निर्णय गरेको छ ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले कोभिड विरुद्धको लडाईमा नगरपालिकाले आर्थिक र भौतिक संरचना निर्माणमा सहयोग गर्ने बताए । उनले रामपुर अस्पतालका अध्यक्ष बासुदेव शर्मा भट्टराई र मेडिकल सुपरिटेडेण्ट डाक्टर विजय परियारसंग नगरपालिकाले छलफल बताए ।
नगरपालिकाले आवश्यक भौतिक संरचना निर्माणको लागि आर्थिक सहयोग गर्ने उनले बताए । वडा नम्बर १, ९ र १० का स्वास्थ्य संस्थाका तत्कालका लागि ५ वेडको आईसोलेसन कक्ष बनाउने तयारी नगरपालिकाको छ ।