घरबाहिर ननिस्कौं

कोरोना भाइरस संक्रमण बढेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गरेको छ । बैशाख १७ गते राती १२ बजेदेखि सुरु भएको निषेधाज्ञा २४ गते राती १२ बजेसम्मका लागि लगाएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको आदेशमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरेपछि अहिले सबैलाई घरभित्र बस्न निर्देशन दिइएको छ । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइँदैन । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइएको भनिएको छ । निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु भने संचालन गर्न पाइनेछ

सबैखाले सार्वजनिक र नीजि सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने, तर होटल र रेष्टुरेन्टले भने बिहान ६ बजेदेखि ११ बजेसम्म टेकअवे सेवा सञ्चालन गर्न सक्नेछन् । तर हेलचेक्राई भने अत्यधिक छ । बिहान ६ बजेदेखि ११ बजेसम्म बाहिर निस्कनेको भीड नै छ । टेक्टर, जीप, टिपर संचालनमा छन् । बैंक तथा वित्तीय संस्था तथा अस्पतालमा काम गर्नेहरुको कार्ड भिरेर हिडेको देख्दा उनीहरुलाई पूर्ण स्वतन्त्रता छ । उनीहरुलाई कोरोना भाइरसले छुँदैन जस्तो गरी दादागिरी देखाएजस्तो गरी हिडेको देखिएको छ ।

यस अवधिमा सकेसम्म घरबाहिर ननिस्कँदा के हुन्छ ? यही बेलामा परिचयपत्रको दुरुपयोग गर्नुपर्ने हो र ? अस्पतालहरुमा ओपिडि संचालन भएको छैन । तर सबै कर्मचारी अस्पताल पुग्नुपर्ने बध्यता हो र ? पछिल्ला दिनमा संक्रिय संक्रमितको संख्या बढेको छ । स्थानीय तहले आरटि पिसिआर गरेका छैनन् । तानसेनमा आफै गएर जाँच गर्नेहरु मात्र जाँच भएको छ । कि अस्पताल गएकाहरुको जाँच भएको छ । रैनादेवी छहराले झण्डै सय जनाको जाँच गर्दा ४९ जना पोजेटिभ देखिएको छ । तर अन्य स्थानीय तहले जाँच नै गरेका छैनन् । जाँच नगर्दा रोग लागेका सँगै घुलमेल भइरहेका छन् । घरघरमा जस्तै बिरामी छन् तर जाँचमा किन तदारुकता नदेखाएका हुन् ? त्यसैले अहिले लगाइएको निषेधाज्ञा पालना गर्नु सबैको कर्तव्य हो । त्यसैले अत्यावश्यक काम नपर्दासम्म घरबाहिर ननिस्कौं ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय