
पाल्पा,नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानाले पत्रकारहरुलाई सुरक्षित भएर काम गर्न आग्रह गरेका छन् ।
उनले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा करुवान्यूज संगको कुराकानीमा सूचना सार्वजनिक सम्पति भएको र यसमा सबैको पहुँच हुनुपर्ने बताए । अध्यक्ष रानाले कोरोना महामारीको पहिलो चरणवाट आक्रान्त जनतालाई दोस्रो चरणले थप त्रसित र भयभित बनाएको बताउदै अहिले सत्यतथ्य सूचना दिनु हरेक पत्रकारको दायित्व रहेको औल्याए ।
अध्यक्ष रानाले पत्रकारहरू स्वयम् सुरक्षित भएर भाइरल बनाउने समाचार भन्दा नागरिकलाई हौसला प्रदान गर्ने र सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गरे । महामारीका बेला सकेसम्म प्रविधिको प्रयोगवाट घरमा वा संचारगृहभित्रै बसेर काम गर्नुपर्ने उनको भनाई छ । यदि बाहिर रिपोटिंगमा निस्कनु पर्ने भएमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालन गरि रिपोर्टिङ्ग गर्न आग्रह समेत गरेका छन् ।
निर्वतमान अध्यक्ष राजेशकुमार अर्यालले पत्रकार तथा संचारकर्मीको स्वास्थ्य सुरक्षाका सवालमा संचार गृह संचालकहरु संवेदनशिल हुनुपर्ने बताए । उनले विपद् कहिले सम्म लम्विने भन्ने थाहा नहुनेभएकोले नागरिकलाई सहि सूचना दिन पत्रकारलाई उपयुक्त वातावरण निर्माणमा सहयोग गर्नुपर्ने बताए ।
शुक्रवार देखी पाल्पामा जारी ‘निषेधाज्ञाका बेला आवागमन गर्ने सञ्चारकर्मी र मिडिया हाउसका कर्मचारीलाई सूचना विभागबाट जारी परिचयपत्र र सम्बद्ध मिडिया हाउसले जारी गरेको परिचयपत्रका आधारमा आवागमन गर्न दिइएको छ ।
संचार संस्थाको परिचयपत्र बोकेका सञ्चारकर्मी र कर्मचारीलाई सहज आवागमनमा केही समस्या आइपरे स्थानीय प्रशासनमा समन्वय गर्नसमेत पत्रकार तथा सञ्चारकर्मीलाई अध्यक्ष रानाले अनुरोध गरेका छन् ।