जनगणनाको तयारी तीव्र

पाल्पा । यही बैशाख २६ गतेदेखि असार ८ गतेसम्म हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ का लागि तयारी तीव्रता पारिएको छ । ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने नाराका साथ १२ औं जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले प्रदेश, जिल्ला र स्थानीय जनगणना कार्यालय स्थापना गरेर आफ्नो कामलाइृ तीव्रता दिएको हो ।

जनगणना कार्यालयहरुका लागि सुपरिवेक्षक र गणक छनौट संगै तालिम र सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यक्रम भइरहेको छ । रामपुरमा जिल्ला जनगणना कार्यालय र स्थानीय जनगणना कार्यालय रामपुरले स्थानीय तहस्तरीय सचेतना गोष्ठी गरेको छ ।

स्थानीय जनगणना कार्यालय रामपुर मातहतमा रहेका रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका सरोकारवालाहरुको सचेतनाको लागि गोष्ठी गरेको थियो ।

रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक गरी सिमित व्यक्तिहरुको सहभागीता रहेको थियो । गोष्ठीको सहजीकरण जिल्ला जनगणना कार्यालय पाल्पाका सहायक जनगणना अधिकारी लेखनाथ पाण्डेले गरेका थिए ।

नेपालमा भएका जनगणनाको ऐतिहासिक पृष्ठभूमी, जनगणनाको उद्देश्य, महत्व, गणना विधि, संगठन संरचना, यस पटकको जनगणनाको विशेषता, सोधिने प्रश्नावली र गणना हुने विशेष दिनहरुको जानकारी गराए । जिल्लामा ४ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरी सुरपरिवेक्षकहरु छनौट गरेर तालिम अघि बढाएको उनले जानकारी दिए ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रश्नावली भरेर गरिने गणनामा दोहोरिन सक्ने सम्भावना बढी रहेको बताए । कोभिडले जनगणनामा चुनौती थपिएको बताउँदै सबैको सहयोगले मात्र गणनामा सहजता हुने उनले बताए ।

निस्दी गाउँपालिकाकी उपाध्यक्ष रिता कुमारी अर्यालले प्रश्नावलीबाट यथार्थ उत्तर आएमा संघीय सरकारसंगै स्थानीय सरकारलाई पनि आवश्यकता अनुसार र विकासका कार्यक्रम सञ्चालनमा सहज हुने बताइन् ।

स्थानीय जनगणना कार्यालय रामपुरका जनगणना अधिकारी विकल काफ्लेले रामपुर र निस्दी गाउँपालिकामा भएका तयारीको बारे जानकारी गराए । निस्दीमा ७ जना र रामपुरमा १३ जना सुपरिवेक्षक परिचालन हुने उनले बताए । रामपुरमा ५१ र निस्दीमा २६ जना गणकलाई खटाइने छ ।

सम्बन्धित खवर