पाल्पा अस्पतालमा कोभिड व्यवस्थापन

पाल्पा । पाल्पा अस्पतालले कोभिड–१९, व्यवस्थापनका लागि योजना अघि बढाएको छ । त्यसका लागि उसले अक्सिजनसहितको १५ बेड थप्ने तयारी गरेको छ ।

बुधबार पाल्पा अस्पतालमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन प्रयास सुरु गरेको बताए ।

उनका अनुसार त्यसैकाक लागि १५ बेड अक्सिजनसहितको बनाउन काम अघि बढाइएको हो । अस्पतालमा अहिले चार बेडको आइसोलेशन कक्ष छ । जसमा अक्सिजन दिन सकिन्छ । केही दिनमै १५ बेडमा अक्सिजनको बाँडफाँड गरिने अध्यक्ष पाण्डेयले बताए ।

सबै बेडमा अक्सिजन व्यवस्था मिलाउने गरी काम अघि बढेको उनले बताए । त्यसका लागि ५ लाख रुपैयाँ तत्काल आवश्यक पर्ने भएको छ । नाँपजाँच भइसकेको र सामग्री ल्याउने काम सुरू भएको पत्रकार सम्मेलनमा जानकारी गराए । पाइप लाइनमार्फत अक्सिजनको व्यवस्था मिलाउने अध्यक्ष पाण्डेयले बताए ।

‘जनतालाई सर्वसुलभ र सरल तरिकाले सेवा दिने गरी स्थापना भएको सरकारी अस्पताल हो,’ पाण्डेले भने, ‘कोरोनाका कारण गम्भीर बिरामी भएकालाई तत्काल केही राहत दिने उद्देश्यले अक्सिजनयुक्त बेड थप्ने प्रयास गरेका छौं ।’ अध्यक्ष पाण्डेयले यहाँबाट पाइने कुनैपनि उपचारमा कमी हुन नदिने उद्देश्य लिएर अघि बढेको बताए ।

अक्सिजनसहितको बेड निर्माणका लागि विशेषज्ञ बोलाएर काम अघि बढेको छ । निर्माण कार्यका लागि स्टिमेट तयार गर्ने काम सम्पन्न भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरले जानकारी दिए । एक साताभित्रै अक्सिजनको बेड तयार हुन्छ ।

पाल्पा अस्पतालमा फार्मेसी सेवा संचालनमा छ । फार्मेसीमा ३ सय प्रकारका औषधीको व्यवस्था छ । कम्तीमा १० प्रतिशत छुटमा औषधी उपलब्ध हुन्छ । थाइराइड परीक्षण गर्ने मेसिनसमेत खरिद गरेर ल्याएको छ । डिजिटल एक्सरे र ल्याबको पनि व्यवस्था रहेको डा. कुंवरले बताए ।

अस्पतालमा ९० कर्मचारी छन् । आठ जना मेडिकल अफिसर, दाँत सम्बन्धी काम गर्ने तीन जना र १४ जना स्टाफ नर्स छन् । पाल्पा अस्पतालले गत वर्षदेखि कोभिड–१९ परीक्षण प्रयोगशालासमेत संचालनमा ल्याएको छ ।

आर्थिक अभावले प्रयोगशाला संचालनमा समस्या भएको छ । कर्मचारीलाई तलब दिन, कीट, पीपीइ लगायतका सामग्री खरिद गर्न समस्या भएको उनले बताए । बिहिबारदेखि पाल्पा अस्पतालमा ओपिडी सेवा बन्द भएको छ ।

कोरोना महामारी फैलिएपछि यसको नियन्त्रण गर्न ओपिडी सेवा बन्द गर्नु परेको कुँवरले बताए । उनका अनुसार आकस्मिक सेवा भने चौविसै घण्टा सुचारु रहने छ । पाल्पा अस्पतालमा दैनिक करिब ५ सय जनाले रेफर लेटरसहित विभिन्न उपचार सेवा लिँदै आएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय