गाउँमा छैन सतर्कता

पाल्पा । भारतमा कोभिड संक्रमणले महामारीको रुप लिएको छ । दिल्ली, मुम्बई लगायतका सहरमा कोभिडका बिरामी लाखौंको संख्यामा पुगेका छन् । पछिल्ला दिनमा दैनिक कम्तीमा ३ लाख कोभिडका बिरामी भारतमा देखिएका छ्न । त्यसको प्रभाव नेपालमा पनि परेको छ ।

त्यहाँ कामका लागि पुगेका नेपाली घर फर्किने क्रम बढेको छ । जसले गर्दा नेपालमा पनि अवस्था दयनीय बन्दै छ । दैनिक २ हजार बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतमा आप्रवासी नेपालीले काम नपाउने मात्र होइन, खान नपाउने अवस्था आइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।त्यसैले भारतमा रोजगारका लागि पुगेका सयौं नेपाली विभिन्न नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

ती मध्ये पाल्पाका पनि छन् । सोनौली, रुपैडिया, पश्चिमका गड्डा चौकी लगायतबाट पाल्पाली नागरिक प्रवेश गरेका छन् । तर उनीहरु नेपाल आइसकेपछि गाउँमा भने खुलेआम हिडडुल गरेका छन् ।

‘गतवर्ष जस्तो यसपटक निगरानीका काम गरिएको छैन,’ बगनासकाकली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले भने, ‘गाउँपालिकाबाट पनि त्यस्तो खालको निर्णय भएको छैन । त्यसैले निगरानीलाई खासै ध्यान दिइएको छैन ।’

भारतबाट फर्केकाहरु सोझै आफ्नो घर पुगेका छन् । जहाँ परिवार, समुदायसँग धेरै घुलमिल भइसकेका छन् । भारतमा कामबाट फर्केकाहरुको तथ्यांक लिने काम पनि खासै भएको छैन ।

गतवर्ष आएकाको रेकर्ड राखिएको थियो । यसवर्ष भने त्यस्तो कुनै तथ्यांक लिएको छैन । केही गाउँपालिकाले त्यस्तो काम गर्नु भन्ने निर्णय गरेको छ । तर स्थानीयस्तरसम्म भने त्यसको प्रभावकारिता खासै देखिएको छैन ।

रैनादेवी छहरा स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार यसपटक अघिल्लो वर्षमा जस्तो काम केही गरिएको छैन । अहिलेसम्म गाउँपालिकाबाट पनि कुनै निर्णय भएको छैन । त्यसैलेपनि काम भएको छैन ।

‘गाउँमा कन्ट्याक्ट ट्रेसिङ भएको छैन, भारतबाट आएका पनि यत्तिकै छन्,’ उनले भने, ‘सकेजतिको मिलाएर पिसिआर परीक्षण गर्ने हो । तर पाल्पा अस्पताल ल्याबबाट थोरैको मात्र पठाउनु भन्ने छ ।

त्यही भएर आएका जति सबैको पठाउन सकिएला जस्तो छैन ।’ गाउँमा भारतबाट भित्रिने मात्र होइन भारतमा उपचार, मेला, तीर्थयात्रामा गएर आउने पनि छन् । रामपुरमा मात्र भारतबाट कुम्भमेलाबाट फर्केका १० जनामा कोरोना भाइरस पुष्टि भयो ।

रामपुर नगरपालिका क्षेत्रबाट मात्र १५ जना कुम्भ मेलामा सहभागी भएका थिए । उनीहरुको पिसिआर परीक्ष्ँण गर्दा पोजेटिभ पुष्टि भएको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख तीर्थ प्रसाद ढुंगानाले बताए ।

उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ । सबै संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् । रामपुर नगरपालिकाले समुदायमा संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै कुम्भ मेलाबाट फर्किएका सबै नागरिकलाई अनिवार्य क्वारेन्टिनमा बस्न निर्देशन दिएको छ ।

रामपुर नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, इलाका प्रशासन, सुरक्षा निकायका प्रमुख, विद्यालय तथा अस्पतालका प्रमुखले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

रामपुर क्षेत्रमा मानिसहरुको भीडभाड हुने कार्यक्रम बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । धार्मिक स्थलहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी पुजा प्रार्थना गराउने, नगर भित्रका प्रवेश विन्दुहरुमा हेल्थ डेक्स स्थापना गर्ने निर्णय रामपुर नगरपालिकाले गरेको नगरप्रमुख रमण बहादुर थापाले जानकारी दिए ।

तर पूर्वखोला गाउँपालिकामा बाहेक अन्यत्र निगरानीसमेत गरेको पाइएको छैन । पालिकामा निर्णय सबैमा भएका छन् । स्थानीयस्तरमा त्यस्ता निर्णयको कार्यान्वयन भएको पाइएको छैन ।

रामपुर नगरपालिकाले स्वास्थ्य चौकीहरुमा ५ वेडको आईसोलेशन तयार गर्ने, होम आइसोलेसनमा रहेका व्यक्तिहरुको निगरानी गरी आवश्यक उपचार आवश्यक परेमा अस्पताल र प्रयोशालासंग समन्वय गरी सहजिकरण गर्ने निर्णय गरेको छ ।

पिसिआर पोजेटिभ आएका व्यक्तिहरुको निकट रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरी पिसिआर परिक्षणमा सहजिकरण गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

रामपुरले विदेशबाट आउने सबैलाई १४ दिन होम आईशोलेसनमा बस्न अनुरोध गरेको छ । टोलविकास समिति, समुदाय र वडा कार्यालयहरुले निगरानी गर्ने रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले बताए ।

तर अघिल्लो वर्षमा जस्तो क्वारेन्टिन, आइसोलेसन संचालनमा भने स्थानीय तहले ध्यान दिएका छैनन् । गतवर्ष प्राय सबै स्थानीय तहले क्वारेन्टिन र आइसोलेशन संचालनमा ल्याएका थिए ।

यसवर्ष भने संघीय सरकारले पठाएको १० लाखबाट ५ लाखमा सामाग्री खरिद गरेर ५ बेड तयार गरेका छन् । यो बाहेक भने कहिकतै पनि थप उपचारका लागि बेड तयारी छैन । रम्भा गाउँपालिकाले भने आफ्नै लगानीमा थप ५ बेड तयार गरेको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए ।

पूर्वखोलाले आफ्नै लगानीमा ५ बेड अक्सिजनसहित व्यवस्थित गरेको छ । आइसोलेशन पूर्वखोलामा २० बेड रहेको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।

सम्बन्धित खवर