सचेत बनौं र बनाऔं

दिनानुदिन कोरोना भाइरस संक्रमण दर बढ्दो छ । संक्रमण बढेपछि थप सतर्कता अपनाउनुपर्छ । कोरोना संक्रमण नियन्त्रणका लागि धेरै बुँदामा निर्णय हुन्छ । तर थोरै मात्र बुँदामा ती निर्णय कार्यान्वयन हुन्छ । त्यसैले सचेत हुने तपाई आफै हो र तपाइले अरुलाई पनि सचेत बनाउने हो । होइन भने ज्यान जोखिममा पर्न सक्छ । अरुले गर्देला र जोगिन्छु होइन, आफै नै जोगिने हो । आफू सतर्क रहेर अरुलाई पनि सतर्कता अपाउन चेतना फैलाउनुपर्छ । त्यो तपाईको दायित्व हो । स्थानीय प्रशासन, संकट व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउन आग्रह गर्छ । अभियान चालेको जस्तो गर्छ तर त्यो कुरा तपाइका लागि हो भन्ने बुझ्नु जरुरी छ । यसबाट सतर्क बन्ने र बनाउने कर्तव्य तपाइको पनि हो ।

खुल्ला सीमाना भएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढेको छ । त्यसको प्रत्यक्ष असर यस जिल्लामा समेत देखिएको छ । भारतबाट फर्कने सत प्रतिशतमै कोरोना संक्रमण देखिएको छ । रोग नलागेकालाई त केही नहोला तर रोग लागेकालाई भने यसले पक्कै ठूलो असर गर्छ । त्यसैले पनि यसबाट जोगिनुपर्छ । हुन त पाल्पाम पनि केही दिनअघि कोरोना संक्रमण दर १२ प्रतिशत रहेको थियो । अहिले बढेर २० प्रतिशत हुँदै ५० प्रतिशत पुगेको छ । अबदेखि कोरोना परीक्षण गरिएकामध्ये ५० प्रतिशत बढीमा कोरोना संक्रमण देखिने सम्भावना रहेको स्वास्थ्य कार्यालयले नै जनाइसकेको छ । क्रियाशील सबै क्षेत्रले कोरोना नियन्त्रणका लागि काम गर्नुपर्ने बेला आएको छ। तर चेत अझै खुलेको छैन ।

गृह मन्त्रालय, स्थानीय प्रशासनले भीडभाड हुने खालका सभा, सम्मेलन गर्न रोक लगाएको छ । तर यस्ता काम गर्न स्थानीय तहले छाडेका छैनन् । किन सचेत नभएका हुन् ? विभिन्न सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गराउनुपर्छ । तर पालना भएको पाइएको छैन । यसका विषयमा किन कोही कसैले केही नबोल्ने हुन् । नागरिक समाज यही बेलामा सक्रिय हुनुपर्छ वा पर्दैन । महामारी वा संकटका बेलामा नागरिक समाजले पनि यस विषयमा कुरा उठाउन जायज हुन्छ । कोरोना भाइरस संक्रमण त्रासका बेलामा नागरिक समाजले स्थानीय प्रशासन, स्थानीय तहलाई सही ढंगले काम गर्न खबरदारी गर्नुपर्ने देखिएको छ । किन भने स्वास्थ्य मापदण्ड पालना भएको छैन । भीडभाड घटेको छैन । अस्पताल पुग्दा उस्तै त्रासमय वातावरण छ । त्यसैले आफू सचेत बनौ र अरुलाई पनि सचेत बनाऔं । कोरोना भाइरसबाट जोगिन स्वास्थ्यको मापदण्ड पालना गरौं ।

सम्बन्धित खवर