
पाल्पा, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्थानीय सरकार सवल र सक्षम बनाउन सकेमात्र आम नागरिकले फाईदा लिनसक्ने बताएका छन् । उनले सामाजिक विकास मन्त्रालयको आयोजनामा शुक्रबारबाट तानसेनमा सुरु भएको तीन दिने स्थानीय तहमा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम शुभारम्भ गर्दै यस्तो कुरा बताएका हुन् ।
मन्त्री बरालले संघीयतामा जनताले सेवा लिने प्रथम केन्द्र भनेको वडा कार्यालय वा गाउँपालिका रहेकोले स्थानीय तहमा कार्यरत कर्मचारीको क्षमता विकास गराउँदा सेवा प्रभावकारी हुने बताए । उनले तालिमले प्रदेश भित्रका स्थानीय तहका असल अभ्यास साटासाट, विषयगत क्षेत्रमा भएका सवल र सुधार गर्नुपर्ने पक्षका विषयमा सहभागीले ज्ञान लिने विश्वास व्यक्त गरे ।
मन्त्रालयका सचिव माहादेव पन्थले सामाजिक सवालमा काम गर्दा आइपर्ने समस्यालाई सहजिकरण गर्न तालिम आवश्यक रहेको बताए । उनले स्थानीय तहमा कर्मचारीको समायोजन हुँदा फरक फरक अनुभव भएका कर्मचारी रहेको बताउँदै उनीहरुको क्षमता विकास गर्न सके सेवा प्रभावकारी हुने सोचले तालिम आयोजना गरिएको बताए ।
सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले तालिममा स्थानीय तहको महिला तथा बालबालिका शाखामा रहेर काम गदै आएका कर्मचारीलाई सामाजिक सवालमा वकालत, पैरवी र सहजिकरणमा मद्दत गर्ने गरी तालिम संचालन गरिएको बताइन् । उनले महिला तथा बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिलाई सेवा दिँदा परिआएका समस्या समाधानमा समेत तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
शाखा अधिकृत सञ्जय ज्ञवालीले तालिममा पाल्पा, गुल्मी र अर्घाखाँचीका २८ स्थानीय तहका महिला तथा बालबालिका शाखामा काम गर्ने कर्मचारीको सहभागिता रहेको जानकारी दिए । उनले तालिम पछि स्थानीय तह, प्रदेश बीच समन्वय र सहकार्य बढ्ने विश्वास व्यक्त गरे । तालिम आइतबार सम्पन्न हुने लेखा अधिकृत मिनबहादुर घर्तीमगरले जानकारी दिए ।