![नेपाल परिवार नियोजन संघ पाल्पाको १९ औं साधारणसभा](https://karuwanews.com/wp-content/themes/karma-news-namuna-2024/assets/imgs/lazy.png)
किसन पाेखरेल
पाल्पा । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको १९ औं साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै सभापति सुधीरप्रसाद श्रेष्ठले शाखाबाट सन् २०२० का वार्षिक कार्यक्रमहरु सम्पादनको शुरुवातमै विश्वव्यापी महामारी जन्य संक्रमण कोभिड १९ को कारणले सेवाको निरन्तरतामा चुनौती भएको बताए । उनले केन्द्रीय कार्यालयको सहयोगमा शाखाका नियमित सेवाहरु परिवार नियोजन साधन वितरण तथा परामर्श सेवा,सुरक्षित मातृत्व सेवा, सुरक्षित गर्भपतन सेवा, प्रयोगशाला सेवाका कार्य भएको बताए ।
उनले स्वेच्छिक परामर्श तथा परीक्षण सेवा (निशुल्क एच.आई.भी. परीक्षण सेवा ) का साथै २४सै घण्टा एम्बुलेन्स सेवा लाई निरन्तरता प्रदान गरिएको बताए । नेपाल परिवार नियोजन संघले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि नयाँ अवधारणाको विकास तथा विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेका स्वास्थ्य सेवा र सूचनाको पैरवी गर्ने कार्यलाई सधै अग्रणी संस्थाको रुपमा कार्य गर्दै आएको उनले बताए । सरकारको स्वास्थ्य सेवामा समपूरकको भूमिका निर्वाह गर्दै आइरहेको शाखा उपसभापति ज्योति राजभण्डारीले बताइन् ।
दिगो विकास लक्ष्यले अपेक्षा गरेका लक्ष्य हासिल गर्नमा आईपिपिएफको ४ वटा तत्कालिन उपलब्धि हासिल गर्ने लक्ष्य रहेको उनले बताइन् । ५ वटा मान्यताहरु जस्तै सामाजिक समावेशिकरण, विविधता, उत्सुकता, स्वयमसेवी भावना र जवाफदेहीतालाई अंगिकार गरी कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिएको उनले बताइन् ।
शाखाले एच.आई. भी.र एड्स सम्बन्धि भेदभाव र लाञ्छना हटाउन तथा संक्रमितहरुको पहुँच र क्षमता विस्तारका लागि घर तथा समुदायमा आधारित स्याहार कार्यक्रम संचालन गरेको शाखा सचिव सुशीलराज शाक्यले बताए । सबै गाउँपालिका र नगरपालिकाहरुमा एच.आई.भी. संक्रमित चार जना व्यक्तिहरुलाई साथी शिक्षक सामुदायिक परामर्शदाताका रुपमा नियुक्ती गरी रोजगारी प्रदान गरिएकोे उनले बताए । संक्रमितहरुलाई विश्वव्यापी महामारी जन्य संक्रमण कोभिड १९ को कारणले दैनिक जीवनमा कठीनाई परेको जानकारी पाउना साथ तत्काल प्रस्ताव पारित गराई जिल्ला भरिका अति विपन्न एवं समस्यामा परेका एचआईभीसंक्रमित तथा प्रभावित ३७ परिवारलार्ई खाद्यान्न बितरण गरिएको सचिव शाक्यले बताए ।
उनका अनुसार १५ परिवारलाई ओढने ओछयाउने एवं ३० जना वालवालिकाहरुलाई स्टेशनरी लगायतका रु २ लाख ५४ हजार ६ सय १० रुपैयाँ बराबरकोसामाग्री तथा यातायात सहयोग गरेको छ शाखाका स्वयंसेवक युवा सदस्य तथा कर्मचारी साथीहरुको सक्रियता र पाकार्ड फाउन्डेसन परियोजनाको सहयोगमा लाञ्छना नामक भिडियो फिल्म तयार पारि युट्युव च्यानलमा प्रसारण गरि हजारौं लाभग्राही समक्ष यौन तथा प्रजनन् स्वास्थ्य सेवामा हुने भेदभाव र लाञ्छना न्यूनिकरणका लागि सन्देश दिएको शाखा प्रबन्धक सोवा कान्त न्यौपानेले बताए ।
यौन तथा प्रजनन् अधिकारको पैरवी, गुणस्तरिय यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान, ज्ञान अभिवृद्धि तथा क्षमता व्यवस्थापन, गर्भपतन तथा परिवार नियोजन साधन वितरण र सुचना विस्तार, गर्भपतन तथा परिवार नियोजन साधन वितरण र लाञ्छना न्यूनिकरण कार्यक्रमहरु सम्पन्न भएको शाखा प्रबन्धक न्यौपानेले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति वुद्धीप्रसाद शर्माले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा परिवार नियोजन संघको कार्य महत्वपूर्ण रहेको बताए ।
शाखामा विगतमा स्वयंसेवक भएर कार्य समितिमा काम गर्ने पूर्व उपसभापति चिरञ्जीवी शर्मा ढुंगाना, पूर्व सचिव राजेश्वर उदय, सल्लाहकार तथा पूर्व उपसभापति चित्रवली राम सुवाल, कार्य समिति सदस्य रहेकी गंगा पौडेल लगायतलाई साधारण सभाकै अवसरमा सम्पन्न गरिएको छ । उनीहरुलाई शाखा सभापति सुधीरप्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघका केन्द्रीय युवा संयोजक माला न्यौपाने, वडा ६ का वडाध्यक्ष सागरमान महर्जनले दोसल्ला, सम्मान पत्र प्रदान गरे ।
कोभिडका बेलासमेत निडरतापूर्वक कार्यालय संचालन गर्ने शाखा प्रबन्धक सोवा कान्त न्यौपाने, डा. राकेशलाल बज्राचार्य, लेखापाल सोमबहादुर आले, सिनियर स्टाफनर्स चाँदनी श्रेष्ठ, सिअहेव रोमी श्रेष्ठ, स्टाफनर्स हिरादेवी राना, सिअनमी सरस्वती पन्थी, ल्याब असिष्टेण्ट महेन्द्रप्रसाद पृथी, फिल्ड सुपरभाइजर लेखनाथ ढकाल, प्रमोटर यामबहादुर कार्की, एम्बुलेन्स चालक नारायण जीसी, कार्यालय सहायक बलराम सूर्यवंशी, चौकीदार गिरबहादुर सिंजाली, क्लिनिक सहायक मञ्जु सोमैलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि तथा केन्द्रीय युवा संयोजक न्यौपाने वडाध्यक्ष महर्जन, सम्मानित व्यक्तिहरु पूर्व उपसभापति चिरञ्जीवी शर्मा ढुंगाना, पूर्व सचिव राजेश्वर उदय, सल्लाहकार तथा पूर्व उपसभापति चित्रवली राम सुवाल, कार्य समिति सदस्य रहेकी गंगा पौडेल, युवा संयोजक मिलन खड्का लगायतले मन्तत्वय राखेका थिए । सचिव सुशीलराज शाक्यले वार्षिक प्रतिवेदन पेश गर्नुका साथै कार्य समिति सदस्य माधव अर्यालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम शाखा सभापति सुधीरप्रसाद श्रेष्ठको अध्यक्षता र सचिव सुशीलराज शाक्यको संचालनमा सम्पन्न भएको हो । नेपाल परिवार नियोजन संघबाट एक वर्षमा ३४ हजार २ सय ४४ जनाले सेवा लिएका छन् । यो वाहेक परिवार नियोजन साधन बितरण अन्तर्गत कण्डम, पिल्स, डिपो, इम्प्लाण्ट र आइयुसिडि ४७ हजार ८७१ बितरण गरिएको छ । रामपुर र मित्यालमा आयोजित पुरुष तथा महिला बन्ध्याकरण सेवाबाट ७६ जनाले फाइदा लिए ।
सन् २०२० मा कसेनी, पोखराथोक, मस्याम क्लिनिकबाट नवजात शिशु स्यहार तथा खोप सेवा २ हजार ८१ जनाले लिएका छन् । चापपानी बर्थिङ सेन्टरबाट ३४ जनाले सुरक्षित सुत्केरी सेवा लिएको शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताए । निःशुल्क एचआईभी स्वेच्छिक परामर्श तथा परीक्षण ३ सय ६० जनाको गरिएको छ । ५ सय २० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यसमा कसेनी सामुदायिक क्लिनिकबाट ५९ जनाले सेवा लिएका छन् ।
अन्य स्थानमा असुरक्षित गर्भपतनको जटिलता आएका ६ जनाको परिवार नियोजन संघबाट सेवा दिएको छ । २९ हजार ४सय ५७ जनाको सामान्य स्वास्थ्य परीक्षण, यौन रोग परीक्षण तथा उपचार ८ सय २७ जनाको गरिएको शाखाले जनाएको छ । पाठेघरको मुखको क्यान्सर ८ सय २७ जनाको परीक्षण सेवा दिइएको छ । लैगिकतामा आधारित हिंसा परामर्श तथा पहिचान १ सय ११ जनाको गरिएको छ ।