
सरस्वती दंगाल
पाल्पा । गौतम वुद्ध अन्तर्राष्ट्रि क्रिकेट रंगशालालाई पाल्पाका ट्रिपर व्यवसायीले सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनको संयोजनमा चितवनमा निर्माणाधीन रंगशालाका लागि आवश्यक निर्माण सामग्री सहयो गरेका हुन् ।
व्यवसायीले ५० बढी ट्रिपरमा राष्ट्रिय झण्डा, व्यानर लगाएर सामाग्री छाड्न गएका हुन् । पाल्पाको तिनाउ गाउँपालिकाबाट सबै ट्रिपर व्यवसायी सामाग्री लिएर चितवन गएका छन् । सामान सहितको ट्रिपर विदाई कार्यक्रमा यातायात तथा मजदुर भलाई कोषका अध्यक्ष दिनेश श्रेष्ठ, तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष प्रेम पाण्डे लगाएतले पवित्र मनले निर्माढा हुन लागेको अन्तर्राष्ट्रिय रंगशालाका लागि ट्रिपर व्यवसायीको सहयोग अतुलनीय हुने बताए ।
धुर्मुस सुन्तली फाउण्डेसनको मेचीमहाकाली अभियान अन्तर्गत पाल्पाको सिद्धबाबा आइपुगेका थिए । फाउण्डेसका अभियन्ता धुर्मुस र सुन्तलीसँगको भेटमा ट्रिपर व्यवसायीले सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार लगिएको समूहका अध्यक्ष अरविन्द पाण्डेयले बताए । कार्यक्रम संयोजक तथा तमन्ना मल्टि प्रर्पोज प्रालिका कार्यकारी प्रमुख तोया लम्सालले निर्माण सामग्री सहयोग कार्यक्रमबाट क्रिकेट रंगशाला बनाउने अभियानमा साथ रहेको बताए ।
क्रिकेट रंगशाला बनाउने महान अभियानमा आफूहरु सहभागी हुने घोषणासमेत उनीहरुले गरेका थिए । धुर्मुस सुन्तली फाउण्डेसनलाई हौसला दिन व्यवसायीहरुले सक्दो सहयोग गर्नुपर्ने उनले बताए । नेपालमा अन्तर्राष्ट्रिय रंगशाला बन्ने विश्वास व्यवसायीको छ । विभिन्न सिमेन्ट उद्योगको चुनढुंगा खानी पाल्पाका विभिन्न स्थानमा रहेका छन् । तिनाउ गाउँपालिकाको दोभान, कोलडाँडा, कचल लगायतका स्थानमा चुनढुंगा खानी छ । त्यही खानीको सामाग्री सहयोगमा ५० ट्रिप्पर निःशुल्क रुपमा नदीजन्य निमार्ण सामाग्री ढुवानी गरेका हुन् ।
धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट संकलित रकमबाट चितवनमा रंगशाला निर्माण गरिरहेका छन् । रंगशाला निमार्ण सामाग्री सहयोग कार्यक्रमका संयोजक तथा तमन्ना मल्टिप्रपोजका कार्यकारी प्रमुख लम्सालका अनुसार जनस्तरबाट रंगशाला निमार्ण अभियान अन्तरगत आइतवार विहान ६ बजे ट्रिपर चितवन गएको छ । सबैतिरबाट बुटवल गोलपार्कमा भेला भएर ५० टिप्पर बालुवा तथा गिट्टी लिएर गएका हुन् । झुम्साका व्यवसायी कृष्ण प्रसाद पाण्डेयका अनुसार १५ लाख बराबरको सहयोग सामाग्री लिएर गएको छ ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल सहयोग जुटाउदै देशव्यापी अभियानमा हिडेका छन् । पछिल्लो समय खेल मैदान निर्माणमा आर्थिक अभाव भएको भन्दै फाउण्डेशनले सार्वजनिक अपिल परेको थियो । रंगशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रकम सबै सहयोग उठाएर पुरा गर्ने बताइएको छ । चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा रंगशाला निर्माण भइरहेको छ ।
कम्तीमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको हो । नेपालको मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । मल्टी प्रपोजको रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डी बियो, स्विमिंगलगायतको खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले पछिल्लो समयमा बजेट अभाव हुँदा सोचे जसरी कामलाई अघि बढाउन नसकेको बताएका छन् । रकमको जोहो हुने निश्चित स्रोत नभएको बताउँदै बजारबाट ल्याएको सामानको पैसा तिर्न नसक्ने अवस्था रहेको सार्वजनिक अपिल गरेका छन् । २०७६ साउन १ गतेदेखि संरचनाको काम शुरु गरिएको रङ्गशाला एक वर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो समयमा कोरोना संक्रमण तथा अन्य समस्याका कारण तालिका अनुसार काम हुन सकेको छैन ।