
पाल्पा । सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा पाल्पाद्वारा सञ्चालित सामुदायिक रेडियो मदनपोखराको २३ औं वार्षिकोत्सव मनाएको छ । मदनपोखरामा आयोजित कार्यक्रममा वार्षिक पत्रिका बोली र सारेम भित्तेपात्रोको सामूहिक विमोचन गरिएको छ ।
सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसी, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक भट्टराई, तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठक, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी, माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई, साहित्यकार टंक पन्थलगायतले सामूहिक रूपमा विमोचन गरे ।
कार्यक्रममा सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले रेडियोले विगतमा लोकतान्त्रिक गणतन्त्र, जनपक्षीय संविधान निर्माण, सामाजिक न्याय, सामुदायिक भावना र सदाचारका निम्ति बोलेको र सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका निम्ति बोलिरहने प्रतिवद्धता व्यक्त गरे । सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले आर्थिक वर्ष २०७६÷०७७ मा ५१ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरे ।
विमोचन कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक भट्टराईले सामुदायिक रेडियो मदनपोखरा उत्पीडित, शोषित, श्रमजीवी र परिवर्तनकामी समुदायको आवाज दिने माध्यम बनेको बताए ।
उनले ‘बोली’ सञ्चार क्षेत्रको मात्र नभई आम नागरिकको लिपीबद्ध आवाजको रुपमा स्थापित भएको बताए । साहित्यकार तथा समीक्षक टंकप्रसाद पन्थले २०६० सालबाट प्रकाशन आरम्भ भएको बोलीले पन्ध्रौँ अङ्कले समाज र राष्ट्रकै समस्यालाई सम्प्रेषण गरेको हुनाले सबैको बोली बन्न पुगेको बताए ।
उनले भने, ‘समाजका जल्दाबल्दा विषयको उठान गरी समस्या उठाउने मात्र नभई समाधानका उपायहरू पनि सुझाउने ‘बोली’ समाज र राष्ट्रकै वाणी बनेर स्थापित हुन सकोस् ।’ साहित्यकार कृष्णकला भण्डारीले बोली पाल्पाको संग्रहणीय र पठनीय पत्रिकाको रूपमा स्थापित रहेको बताइन् ।
महिला सशक्तीकरणका लागि स्थानीय रेडियोको भूमिका विषयका संवादमा तानसेन नगरपालिका प्रमुख लक्ष्मीदेवी पाठकले महिलाको सुरक्षा, सम्मान, रोजगारी, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन रेडियो मदनपोखराको भूमिका प्रशंसनीय रहेको बताइन् ।
बगनासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले वर्गीय शोषण, जातीय दमन र लैंगिक विभेदका विरुद्ध रेडियोले बुलन्द आवाज दिएको बताए । माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले महिलालाई सबल र सक्षम बनाउन रेडियोले दिने आवाज सहयोगी हुने विचार व्यक्त गरिन् ।
सारेमले व्यावसायिक कृषिका लागि किसानका योजना र सफलता विषयक संवाद कार्यक्रमसमेत सञ्चालन गरेको थियो । कोभिड १९ को असहज परिस्थितिलाई मध्येनजर गरेर सारेमले प्रतिनिधिमूलक उपस्थितिमा संक्षिप्त कार्यक्रम आयोजना गरेको छ ।







