खडेरी बढेसँगै जंगलमा डढेलो लागेको छ । डढेलो नियन्त्रणमा लिने प्रयास नभएको होइन । कतिपय स्थानमा डढेलो नियन्त्रणमा आएको छ । केही स्थानमा भने नियन्त्रण बाहिर छ । ढुंगा खस्ने, नजिक जान नसकिने स्थानमा डढेलो नियन्त्रणमा लिन सकिँदैन । डढेलोले धेरै स्थानमा जंगल सखापै पारेको देखिएको छ । रिब्दीकोट गाउँपालिकाको खस्यौली, भैरवस्थान, कुसुमखोलाका जंगल डढेलोले सकेको छ । तानसेन नगरपालिका–११, बौघापोखराथोक र तानसेन नगरपालिका–५ राउतेडाँडाको अवस्था पनि उस्तै छ । खडेरी बढेसंगै जंगलमा डढेलो लाग्ने क्रम अझ बढेको छ । दिनुहुँ जंगलमा डढेलो लागेको खबरले प्रहरी, प्रशासन र डिभिजन वन कार्यालय हैरान बन्नुपर्छ । समयमा पानी नपर्दा अझ डढेलोले मुश्किल पारेको हो ।
पाल्पामा मात्रै ६४ सामुदायिक वनमा डढेलो लागेको छ । जंगलमा लागेको डढेलोले १ हजार ५ सय १० हेक्टर जमिनको घाँसपात दाउरा काठपात जलेर नष्ट भएको छ । दिनहुँ बढ्दो गर्मीसँगै लामो सयमदेखी पानी नपरेकाले दिनहँु पाल्पामा आगलागीका घटना बढ्दो छ । दैनिक दुई देखि तीन सय हेक्टर जंगल, खरियान, बुट्यानमा आगलागी हुँदै आएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ । १० वटा पालिका मध्ये सबैभन्दा बढी आगलागी रिब्दीकोट गाउँपालिकामा छ । चुरे क्षेत्रका सामुदायिक वनमा पनि भीषण आगलागी भइरहेको छ ।
सामुदायिक र सरकारी जंगलमा डढेलो लागेको छ । हुन त कतिपय स्थानमा छिटो घाँस पलाउने बहानामा डढेलो लगाएको हुन सक्छ । कतिपय सामुदायिक वनमा भने बाहिरका मान्छेले डढेलो लगाइदिएका हुन् । डढेलोले जंगलका काठ, दाउरा, जडीवुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको छ । खडेरी र बढ्दो गर्मीले सामुदायिक वनका उपभोक्ता डढेलो निभाउन जंगल जान सक्ने अवस्था छैन । गर्मीले गर्दा आगो अघि पर्न समस्या छ । नवलपरासी र रुपन्देहीको सिमाना चुरे पहाड जंगलमा सिमानाभन्दा अगाडिबाटै आगो लगाइदिने गर्छन् । डढेलोबाट अमला, हर्रो, बर्रो, दालचिनी, गानेगुर्जो, पिपला, सिसनी लगायतका बहुमुल्य जडीवुटी समेत नष्ट भएका छन् । त्यसैले खडेरीका बेला हुने डढेलोबाट सचेत बनौं ।