
सरस्वती दंगाल
पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको बुधबार सम्पन्न निर्वाचनबाट छैठौ अध्यक्षमा रेखीराम राना विजयी भएका छन् । २६ औं अधिवेशनमा नयाँ नेतृत्वका लागि बुधबार अध्यक्ष, सचिव, सह–सचिव, सदस्यमा निर्वाचन भएको हो । निर्वाचनले प्रेस सेन्टरबाट उम्मेदवार बनेका रेखिराम रानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्षका उम्मेदवार रानालाई प्रेस युनियन र चौतारीकै एक समूहबाट सहयोग थियो ।
लोकतान्त्रिक एवं प्रगतिशील गठबन्धनका रानाले निकटतम् प्रतिद्वन्दी प्रेस चौतारी नेपालका कमल तिमिल्सेनालाई पराजित गरेका हुन् । शाखाका सदस्यहरुको ९२ मत खसेकामा रानाले ५९ मत ल्याए । तिमिल्सेनाले २६ मत प्राप्त गरेका छन् । अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जीवलाल सुवेदीले ४ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित राना लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन्् । झण्डै डेढ दशकदेखि गोरखापत्र र नवसंवादमा काम गरेका उनी माथागढी गाउ“पालिका–३, कसेनीका हुन् । नवसंवाद साप्ताहिकका सम्पादक रहेका राना गोरखापत्रका संवाददाता हुन् । उनले सबै पत्रकारको साथ सहयोगले आफूले निर्वाचन जितेको बताए । महासंघलाई साझा संगठन बनाउने, श्रमजीवी पत्रकार र उनीहरूको व्यवसायिक हितका लागि लड्ने उनले प्रतिवद्धता जनाए । पत्रकारको छाता संगठन महासंघलाई सदस्यहरुको आकर्षणको केन्द्र बनाउने उनको प्रतिवद्धता छ । महासंघलाई वास्तविक र व्यवहारिक रुपमा साझा संगठनको रुपमा विकास गर्ने उनले बताए । महासंघको अहिलेसम्मको गरिमालाई थप उचाईमा पु¥याउने बताउँदै पत्रकारहरुको क्षमता अभिवृद्धिमा ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।
सचिवमा प्रेस चौतारीका यज्ञमूर्ति तिमिल्सिना विजयी भए । निकटतम् प्रतिद्वन्दी प्रेस चौतारीकै कृष्ण कार्कीलाई १ मतले पछि पारे । सचिवमा विजयी तिमिल्सेनाले ४२ मत पाए । कार्की ४१ मत ल्याएर उपविजेता बने । सचिव पदमै स्वतन्त्रबाट उम्मेदवार बनेका भोजराज भट्टराईले ४ मत पाए ।
कार्य समितिकै सह–सचिवका लागि भएको निर्वाचनमा प्रेस चौतारीकी रिमा सोमै विजयी भइन् । निकटतम् प्रतिद्वन्दी नारायण न्यौपानेलाई ६ मतको फरकमा उनले पराजित गरेकी हुन् । विजयी सोमैले ४७ मत ल्याएइन् भने न्यौपानेले ४१ मत पाए । कार्य समितिको चार सदस्य पदका लागि भएको निर्वाचनमा कृष्ण पोखरेल, भुवन रायमाझी, दुर्गेश मल्ल, सुनिल कार्की विजयी भए । पोखरेलले लोकप्रिय मत ७५ पाए भने रायमाझीले ४८, मल्लले ४१ र कार्कीले ४० मत ल्याएर विजयी बने ।
सदस्यमै उम्मेदवारी दिएका दयाराज न्यौपाने र विष्णु घिमिरेले समान ३४÷३४ मत पाए भने सीता डोटेलले २९ र अमृत अधिकारीले २८ मत पाए ।
राष्ट्रिय परिषद् सदस्यको निर्वाचनमा भगवान भण्डारी र देव पचाभैया निर्वाचित भए । भण्डारीले ६६ र पचभैयाले ६० मत पाए । महासंघ पाल्पा शाखामा ९९ जना सदस्य छन् । ५ जना विदेश र २ जना अनुपस्थिति भएकाले ९२ मत खसेको निर्वाचन समितिका सदस्य भरतप्रसाद आचार्यले बताए । यसअघि नै मनोनयन दर्ता गर्ने क्रममै उपाध्यक्षमा नेपाल प्रेस युनियनबाट भरत शर्मा, महिला उपाध्यक्षमा प्रेस चौतारीबाट सिर्जना घिमिरे, कोषाध्यक्षमा प्रेस युनियनका मुक्तिप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भइसकेका थिए ।
यस्तै, समावेशी सह–सचिवमा प्रेस सेन्टरका कृष्ण दर्नाल, दलित सदस्यमा चौतारीबाट विजय बौडेल, अल्पसंख्याकमा चौतारीकै रन बहादुर कुमाल, समावेशी सदस्यमा युनियनबाट अनिल लिगल निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश परिषद् सदस्यमा सेन्टरबाट नरभुपाल (मिलन) विक र चौतारीका सुकुम नेपालीका साथै राष्ट्रिय परिषद् सदस्य (महिला) मा चौतारीबाटै गीता ज्ञवाली र्निविरोध निर्वाचित भएका हुन् । पत्रकार महासंघ पाल्पा शाखामा यसअघि मेघराज शर्मा, गोविन्द प्रसाद भट्टराई, झपेन्द्र प्रसाद गहिरे, भगवान भण्डारी र राजेशकुमार अर्याल दुई÷दुई कार्यकाल अध्यक्ष भइसकेका छन् ।