
पाल्पाको बगनासकाली गाउँपालिकाले एकपछि अर्को राम्रो काम गर्दै आएको छ । यसअघि फुसको छानारहित गाउँपालिका घोषणा गरेको बगनासकालीले फेरी लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा गरेको छ । बालमैत्री सूचकहरू भित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बालसहभागिता महत्त्वपूर्ण छ । निरन्तरताका लागि भने गाउँपालिकाका सवै पक्षहरूले यसको दीगोपन रणनैतिक कार्ययोजना कार्यान्वयनमा ध्यान दिनुपर्ने देखिन्छ । घोषणा प्रतिवेदन तथा प्रतिवद्धतामा जनप्रतिनिधिले यसलाई प्रस्तुत गरेका छन् । गाउँपालिका भित्र कुनै पनि बालबालिकालाई अनाथ असहायको पीडा भोग्नु नपरोस् भन्ने नै छ । त्यसका लागि अधिकार सुनिश्चिताको खाँचो छ । यसलाई गाउँपालिकाले पूरा गर्नुपर्छ ।
हुन त गाउँपालिकाले सवै विद्यालयलाई पूर्ण वालमैत्री विद्यालय घोषणा गरेको छ । पूर्ण संस्थागत सुत्केरी भएको पालिका घोषणा गरिसकेको छ । ५ वर्षका मुनिका बालबालिकाको शतप्रतिशत जन्मदर्ताका सूचकमा शतप्रतिशत काम सकिसकेको छ । विद्यालयका लागि निर्धारण गरिएका ५० वटा सूचकको उपलब्धिको आधारमा सबै विद्यालयलाई बालमैत्री घोषणा गरेको थियो । बगनासकाली गाउँपालिका मुलुककै पहिलो बालमैत्री विद्यालय भएको गाउँपालिका बनेको थियो । बालमैत्री दीगोपना सुनिश्चितताको लागि सरोकारवाला सवैको सहयोग अनिवार्य हुन्छ । बालमैत्री स्थानीय शासन घोषणापछि पञ्चवर्षीय रणनीतिक योजना पुस्तिका प्रकाशन भएको छ ।
गाउँपालिकाले बालमैत्री रणनीति दीगोपना सुनिश्चितताको लागि घरदैलो कार्यक्रम, जनचेतना, प्रचार प्रसार र सरोकारवालाको साथ लिएर निरन्तर कार्यक्रम सञ्चालन गर्दै जानुपर्छ । बालअधिकारको हक अधिकार सुनिश्चिततामा कन्युज्याइँ हुन हुँदैन । बालबालिकाहरू सक्षम, सवल नहुँदासम्म समाज विकास निर्माणमा अगाडि जान सक्दैन भनेर बुझेकामा पनि चर्चा पाएको छ । घोषणा गरेका कुरालाई दीपोपनको लागि निरन्तर स्थानीय सरकारले ध्यान दिनुपर्छ । लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री बनेकोमा बगनासकाली गाउँपालिकाबाट अरु स्थानीय तहले पनि सिकाई हासिल गर्न सक्नुपर्छ । यसले निरन्तरता पाउन पनि जरुरी छ । घोषणासभा घोषणाका लागि मात्रै नहोस् भन्ने पनि हो । त्यसैले यसको निरन्तरताको खाँचो नै हो ।