
पाल्पा । जंगलमा लागेको डढेलो निभाउने क्रममा जिल्लाको माथागढी गाउँपालिका–४, झडेवा खापुकका ६४ वर्षीय मानबहादुर सिंजालीको शनिबार मृत्यु भएको छ ।
माथागढी, झडेवा दानसिंगा सामुदायिक वनमा लागेको निभाउने क्रममा सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जानकारी पाउनासाथ प्रहरी निरीक्षणको कमाण्डमा प्रहरी टोली खटिएर थप अनुसन्धान गरेको जनाएको छ । मृतकका आफन्त मिलन सिंजाली मगरका अनुसार दिउँसो १२ बजेतिर डढेलो सुरु भएको हो ।
आफ्नै बारीको स्याला, झाङ पोल्नलाई आगो लगाउँदा हावाहुरी चलेर डढेलो वनमा सल्किएको हुन सक्ने स्थानीयको अनुमान छ ।
वनमा लागेको डढेलो निभाउने क्रममा चारैतिरबाट डढेलोले घेरेका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा बुझिएको छ । खापुकमा लागेको डढेलो अझै नियन्त्रणमा आइनसकेको स्थानीले बताए ।