रामपुरमा मेयर कप सकियो

पाल्पा । रामपुर नगरपालिकामा चौथो मेयर कप सकिएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा भएको मेयर कप सकिएको हो ।

मेयर कप अन्तर्गत खेलकुदका सात विद्यामा प्रतिस्पर्धा भएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पुरस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरे ।

विजेता खेलाडीहरुलाई पुरस्कृत गर्दै नगर प्रमुख थापाले खेलकुदमा हुने प्रतिस्पर्धाले जित्न मात्र नभए हार्दै गर्दा पनि जित्नको लागि आवश्यक ज्ञानको विषयमा सचेत गराउने बताए ।

नगर भित्रका खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा प्रोत्सहनको लागि कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता सम्म पुग्नको लागि स्थानीय स्तरमा हुने प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष एवं नगर प्रवक्ता हुमनाथ न्यौपाने र रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्लले खेलमा हुने हारजितलाई स्वीकार्दै विचलित नभैकन आफ्नो गन्तव्यमा अघि बढ्न आग्रह गरे ।

विविध साँस्कृतिक कार्यक्रमका साथ भएको पुरस्कार वितरण समारोहमा विजेता वडा तथा खेलाडीहरुलाई पुरस्कृत गरिनुका साथै उत्कृष्ट खेलाडीलाई विधागत रुपमा सम्मान गरिएको थियो । साथै मेयरकप सञ्चालनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम खेल संयोजक किरण मल्लको स्वागत, महासचिव राजु गुरुङ र सचिव सञ्जु परियारको सञ्चालनमा भएको हो । मेयर कपमा नगर भित्रका १० वटै वडामा खेलाडीहरुले सहभागीता जनाएका थिए ।

नगर खेलकुद विकास समितले यस वर्ष खेलकुदका ७ वटै विधामा सहभागी भई सफलता प्राप्त गरेको आधारमा वडा नं. ५ लाई रनिङ्ग शिल्ड कप हस्तान्तरण गरेको छ । साथै अनुशासित वडाको रुपमा वडा नं. ६ लाई सम्मान गरेको थियो ।

त्यस्तै सोताको कराते डोजाङ्ग बाट व्ल्याक बेट प्राप्त खेलाडीहरुलाई सम्मान गरिएको थियो । ७ विधाका प्रतियोगिता मध्ये क्रिकेट प्रतियोगिता रामतुलसी माविको खेल मैदान बेझाँडमा र अन्य बाँकी प्रतियोगिताहरु मटेरी ठूलोटार मैदानमा भएको थियो ।

रामपुरमा सम्पन्न चौथो मेयर कपमा पुरुष भलिबल तर्फको उपाधी वडा नं. ९ ले हात पारेको छ । फाईनल खेलमा वडा नं. ५ लाई ३÷२ सेटले पछि पार्दै वडा नं. ९ ले उपाधी चुमेको हो ।

पहिलो सेट २५÷३ अंक सहित हात पारेको वडा नं. ५ ले दोस्रो र तेस्रो सेट गुमाउन पुग्यो । दोस्रो र तेस्रो सेट २६÷२४ र २५÷२३ सहित अग्रता लिएको वडा नं. ९ चौथो सेट १५÷२५ अंकमा गुमाउन पुग्यो ।

अन्तत पाँचौ खेलमा वडा नं. ९ ले १५÷१२ अंक सहित आफ्नो सेट हातमा लिएको थियो । यस संगै वडा नं. ९ प्रथम र वडा नं. ५ द्वितीय भएको छ । त्यस्तै वडा नं. १ तृतीय भएको छ ।

वडा नं. २ लाई ३÷२ सेटले पराजित गर्दै वडा नं. १ ले तृतीय स्थान सुरक्षित गरेको हो । तृतिय स्थान छनौट खेलमा वडा नं. १ ले पहिलो, दोस्रो र पाँचौ सेट २५÷१९, २५÷११ र १६÷२४ सहित हात पारेको थियो ।

तेस्रो र चौंथो सेट वडा नं. २ ले २०÷२५ र २५÷२७ अंक सहित लिएको थियो । प्रतियोगितामा पुरुष भलिबल अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद ६० हजार, ४० हजार र ३० हजार सहित मेयर कप रनिङ्ग शिल्ड, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

वेष्ट प्लेअर वडा नं. ९ का सन्दिप दमै, वेष्ट डिफेन्डर वडा ९ का लुक बहादुर खन्गाहा, वेष्ट सेटर वडा नं. ९ का अम्मर खन्गाहा, वेष्ट स्पाईकर वडा नं. ५ का सन्तोष थापा, वेष्ट सर्भर वडा नं. ५ का गम्भीर सिंह ठकुरी, वेष्ट क्वीकर वडा नं. ३ का विमल थापा दर्लामी, राईजिङ्ग प्लेअर वडा नं. १ का केशव थापा भए ।

महिला भलिबल तर्फको उपाधी वडा नं. १० ले जितेको छ । फाईनल खेलमा वडा नं. ९ लाई ३÷० को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको हो । वडा नं. १० ले २५÷५, २५÷१४ र २५÷२२ अंक सहित पछि पार्दै प्रथम हुन सफल भएको हो ।

यससंगै वडा नं. ९ द्वितीय स्थानमा समेटिएको छ । प्रतियोगितामा वडा नं. ४ तृतिय भएको छ । तृतीय स्थान छनौटको लागि भएको खेलमा वडा नं. ४ ले वडा नं. २ लाई ३÷२ सेटले पराजित गरेको छ ।

पहिलो र दोस्रो सेट २५÷१९ र २५÷१७ अंक सहित वडा नं. २ ले हात पारेको थियो । अन्तत तेस्रो, चौथो र पाँचौ खेल २५÷१९, २५÷१८ र १५÷११ अंक सहित वडा नं. ४ ले अग्रता लिएको थियो ।

महिला भलिबलमा विजयी प्रथम, द्वितीय र तृतीयले क्रमश नगद ५० हजार, ४० हजार र ३० हजार सहित रनिङ्ग शिल्ड, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

वेष्ट प्लेअर वडा नं. ४ का अमृता थापा, वेष्ट डिफेन्डर वडा ९ का लक्ष्मी पचभैया, वेष्ट सेटर वडा नं. १० का अनिता आले, राईजिङ्ग प्लेअर वडा नं. १० का सपना गाहा, वेष्ट स्पाईकर वडा नं. १० का कल्पना सिंजाली, वेष्ट सर्भिस वडा नं. ९ का रोशनी सारु भए ।

मेयर कपमा सञ्चालित फुटबल प्रतियोगिताको उपाधि साविक विजेता वडा नं. ६ ले जितेको छ । ठूलोटारमा भएको फाईनल खेलमा वडा नं. ५ लाई २÷० गोलले पराजित गर्दै उपाधी जितेको हो ।

फाईनल खेलको पहिलो हाफको दुई मिनेट मै वडा नं. ६ का लागि राजिव क्षेत्रीले गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएका दिए । पहिलो हाफमा दुवै टिमले दवावमा राखेका थिए । तर गोल हुन भने सकेन ।

वडा नं. ६ को लागि दोस्रो हाफको ३० सेकेण्ड मै अनिल सुनारले गोल गरेर थप अग्रता दिलाएका थिए ।

यस संगै वडा नं. ५ द्धितीय स्थानमा समेटिएको छ । तृतीय भने वडा नं. ३ भएको छ । पेनाल्टीमा वडा नं. १० लाई ३÷२ गोलले पराजित गर्दै वडा नं. ३ तृतिय भएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश नगद ६५ हजार, ४५ हजार र ३० हजार सहित रनिङ् शिल्ड, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा वेष्ट प्लेअर वडा नं. ५ का विशाल मल्ल, वेष्ट मेडफिल्ड वडा नं. ५ का कसम मल्ल, वेष्ट किपर वडा नं. ६ का सुरज शाही, वेष्ट डिफेन्स ६ का मनोज क्षेत्री, हाईस्कोरर वडा नं. ६ का राजिव क्षेत्री, राईजिङ्ग प्लेअर वडा नं. ६ का सुजन थापा, वेष्ट कोच वडा नं. ६ का सुन्दर मल्ल हुनु भएको छ ।

क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ८ ले जितेको छ । फाईनल खेलमा वडा नं. ४ लाई ७ विकेटले पराजित गर्दै वडा नं. ८ ले उपाधी हात पारेको हो । यस सगै साविक विजेता वडा नं. ४ उपविजेतामा सिमित भएको छ । फेयस प्ले अवार्ड वडा नं. ३ भएको छ ।

प्रतियोगितामा वेष्ट ब्याट्स मेन वडा नं. ४ का साविर अली, वेष्ट बलर वडा नं. ८ का युवराज कामी र म्यान अफ द सिरिज वडा नं. ८ का पूर्ण घर्ती हुनु भएको छ ।

चौथो मेयरकप अन्तर्गत भएको व्याटमिण्टन प्रतियोगिताको उपाधी शंकर बहादुर खाँण र सुन्दर कंडेलको जोडीले हात पारेको छ । फाईनल खेलमा केशव मल्ल र देव श्रेष्ठको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । मल्ल र श्रेष्ठको जोडी द्वितीय स्थानमा सिमित भएको छ ।

प्रतियोगितामा अशोक पाण्डे र सुदनराज भण्डारीको जोडी र नारायण श्रेष्ठ र मिलन आलेको जोडी तृतिय भएको छ । व्याटमिण्टन अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद २० हजार, १५ हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी गंगा माध्यमिक विद्यालयका छात्रा प्रशंसा अधिकारीले हात पारेको छ । प्रतियोगितामा सहभागी अन्य १० जनालाई पछि पार्दै अधिकारी प्रथम हुन सफल हुनु भएको हो ।

नगर खेलकुद विकास समिति द्वारा सञ्चालित ‘सुशासन युक्त, सम्मुन्त विकास, रामपुर नगरको आवश्यकता’ भन्ने विषयमा भएको प्रतियोगितामा दरैठाँटी माध्यमिक विद्यालयका अस्मिता खनाल द्वितीय हुनु भएको छ ।

त्यस्तै तृतीय स्थानमा नवदुर्गा माध्यमिक विद्यालयका सविना अधिकारी आउन सफल हुनु भएको छ । वक्तृत्वकलामा विजयी प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

वडा स्तरिय रसी तान्ने प्रतियोगिताको उपाधी वडा नं. ५ का गणेश वंशीको समुहले जितेको छ । प्रतियोगितामा वडा नं. ६ का राजन आलेको समुह उपविजेता भएको छ ।

विजेता र उपविजेता समुहले क्रमश नगद १५ हजार र १० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र हात पारेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय