बगनासकाली गाउँपालिकाको छलाङ्

पाल्पा । बगनासकाली गाउँपालिकाले एकपछि अर्को छलाङ मार्दै आएको छ । यसअघि फुसको छानारहित गाउँपालिका घोषणा गरेको बगनासकालीले यसपटिक लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका भएको छ ।

घोषणा सभाका प्रमुख अतिथि गाउँपालिकास्तरीय बालसञ्चालकी अध्यक्ष इन्दू गाहाले बालमैत्री सूचकहरू भित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बालसहभागिता महत्त्वपूर्ण भएकोले गाउँपालिकाका सवै पक्षहरूले यसको दीगोपन रणनैतिक कार्ययोजना कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखिन् ।

घोषणा प्रतिवेदन तथा प्रतिवद्धता प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद आफ्नो गाउँपालिका भित्र कुनै पनि बालबालिकालाई अनाथ असहायको पीडा भोग्नुपरे अधिकार सुनिश्चिताको लागि गाउँपालिकाले सम्पूर्ण लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अभियानको क्रममा गाउँपालिकाले सवै विद्यालयलाई पूर्ण वालमैत्री विद्यालय घोषणा, पूर्ण संस्थागत सुत्केरी भएको पालिका घोषणा, ५ वर्षका मुनिका बालबालिकाको शतप्रतिशत जन्मदर्ताका सूचकमा शतप्रतिशत काम सकिसकेको अध्यक्ष बस्यालले बताए ।

उनका अनुसार यसअघि विद्यालयका लागि निर्धारण गरिएका ५० वटा सूचकको उपलब्धिको आधारमा सबै विद्यालयलाई बालमैत्री घोषणा गरेपछि नेपालका ४६० गाउँपालिकामध्ये बगनासकाली गाउँपालिका मुलुककै पहिलो बालमैत्री विद्यालय भएको गाउँपालिका बनेको थियो । अध्यक्ष बस्यालले बालमैत्री दीगोपना सुनिश्चितताको लागि सरोकारवाला सवैको सहयोग अनिवार्य हुने धारणा राखे ।

बालमैत्री स्थानीय शासन घोषणापछि पञ्चवर्षीय रणनीतिक योजना पुस्तिकासमेत सार्वजनिक गरिएको थियो । गाउँपालिकाले बालमैत्री रणनीति दीगोपना सुनिश्चितताको लागि घरदैलो कार्यक्रम, जनचेतना, प्रचार प्रसार र सरोकारवालाको साथ लिएर निरन्तर कार्यक्रम सञ्चालन गर्दै जाने उपाध्यक्ष सरस्वती चिदी दर्लामीले बताइन् ।

उनले गाउँपालिकाका पदाधिकारीसहितको टोलीले निरीक्षण तथा अनुगमनपश्चात् बालमैत्री विद्यालय घोषणा गरेको बताए । न्यूनतम सूचक पूरा गरी अनुगमन समितिले प्रतिवेदन पेश गरेपछि प्रतिवेदनका आधारमा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको जानकारी दिए ।

घोषणा सभामा नेकपा एमाले बगनासकाली गाउँपालिका अध्यक्ष हरि पाठकले बालमैत्री घोषणा सभाले बालअधिकारको हक अधिकार सुनिश्चिततामा कन्युज्याइँ हुने छैन भन्ने विश्वास दिलाएको बताए ।

उनले बालबालिकाहरू सक्षम, सवल नहुँदासम्म समाज विकास निर्माणमा अगाडि जान नसक्ने भन्दै बालबालिका भोलि समाजको नेतृत्वदायी भूमिकामा रहने भएकोले बालमैत्री गाउँपालिका घोषणा सार्थक रहेको धारणा राखे ।

नेपाली काँग्रेसका बगनासकाली अध्यक्ष यमलाल तिमिल्सिनाले घोषणा गरेका कुरालाई दीपोपनको लागि निरन्तर स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । उनले लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री बनेकोमा बधाई दिदै घोषणा अनुसार कार्यमा निरन्तर लाग्न आग्रह गरे।

माओवादी केन्द्रका कोशलराज घिमिरे र राप्रपाका कपिल ढुङ्गानाले बालमैत्री गाउँपालिका घोषणा महत्त्वपूर्ण उपलब्धि भएको भन्दै स्थानीय सरकार हरेक रूपमा बालबालिकाको हितमा लागिपर्नुपर्ने बताए ।

सभामा बालमैत्री सहजकर्ता शर्मिला पौडेल, बगनासकाली गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पा पूर्व अध्यक्ष गोविन्द भट्टराई, कोषाध्यक्ष मिलन वि.क. बगनासकाली पत्रकार समूहका सह–संयोजक भोजराज तिमिल्सिना लगायतले लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री बनेकोमा बगनासकाली गाउँपालिकाबाट अरु स्थानीय तहले पनि सिकाई हासिल गर्न सक्ने बताए ।

बालमैत्री पालिका घोषणाको लागि गाउँपालिकाले ९ वटै वडामा बाल सञ्जाल बनाएर अभियानलाई अगाडि बढाएको फोकल पर्सन गुनाराम खनालले जानकारी दिए । पालिकाले बालमैत्री वातावरण निर्माणको लागि ९ वार्डमा ९५ वटा बालक्लव गठन गरेको छ ।

बालमैत्री घोषणाको लागि सवै सूचकमा कम्तीमा ८० अंक प्राप्त गर्नुपर्ने भएपनि शिक्षा र स्वास्थ्यका सवै सूचकमा पालिकाले यसअघि नै शतप्रतिशत अंक हासिल गर्नेगरी काम सकाएको पालिकाले जनाएको छ ।

घोषणा सभामा गाउँपालिकाका ९ वटै वार्ड, पूर्व प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्याल, सुन्दरप्रसाद श्रेष्ठ, फोकल पर्सन मनोज आचार्य, बालमैत्री सहजकर्ता शर्मिला पौडेल र सञ्चारकर्मी विष्णु घिमिरेलाई सम्मान गरिएको थियो । सभाको अवसरमा बालबालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षतामा भएको घोषणा सभामा राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, बालक्लव, बालसञ्जालका पदाधिकारी, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक लगायत सरोकारवालाहरूको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय