डढेलोबाट सचेत बनौं

पानी नपरेको ६ महिना पूरा बित्यो । गत असोज १० गतेपछि पाल्पाका अधिकांश भेगमा पानी परेको छैन । मौसम खडेरीको छ । यही मौसममा आगलागी, डढेलो लाग्ने गर्छ । जसले गर्दा धनजनको क्षति हुने अवस्था आउने छ । डिभिजन वन कार्यालयले डढेलो नलाग्न र नलगाउन सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । पछिल्लो वर्षदेखि एउटा नयाँ तरिका अपनाएको छ । बस्ती नजिकका जंगलमा नियन्त्रित आगलागी गर्न थालेको हो । वन डढेलोबाट हुने मानवीय र भौतिक क्ष्ँति कमी गर्न यो उत्तम उपाय हो । तर आगलागी, डढेलो लाग्न भने अझै कमी आएको छैन । डिभिजन वन कार्यालयको यो नयाँ अभ्यास हो । मानव बस्ती नजिकका सामुदायिक वनसँगको सहयकार्यमा नियन्त्रित आगलागी गर्नु राम्रो पक्ष हो । जसबाट मानवीय र भौतिक क्षति कम हुन्छ ।

तानसेन नगरपालिका र ग्रामीण भेगका बस्ती नजिकका जंगलमा यस्तो उपाय अपनाउनु राम्रो कुरा हो । मानव बस्ती र अन्य भौतिक संरचनाका नजिक अग्निरेखा बनाउने र त्यही रेखाबाट आगलागी गरिन्छ । हुन त वन कर्मचारी आफैले डढेलो लगाएको भन्दै कतिपयले आलोचना नगरेका पनि होइनन् । मानवीय र भौतिक क्षति कम गर्न यो माध्यम नमुनाका रुपमा मान्न सकिन्छ । अघिल्लो वर्षको अनुभवले आगामी वर्ष चुरे क्षेत्रमा पनि यही विधि अपनाउन जरुरी छ । तर नलागेका स्थानमा बदमासी गर्नेले भने डढेलो लगाइदिने गर्दा झन् तनाव उत्पन्न भएको छ । खडेरीले सालको पात, सल्ला अत्यन्तै प्रज्वलनशील हुने र यसको जोखिमबाट बच्न पनि यस्तो उपाय अपनाउनुपर्छ ।

वन डढेलोका हिसाबले जोखिम पूर्ण सामुदायिक वनमा यसवर्ष नमुनाका रुपमा अभियान थालिएको छ । नियन्त्रित आगलागी गरेपछि झुक्काएर अरुले लगाउन सक्दैनन् । चैत, वैशाख र जेठ महिनामा आगलागीका बढी घटना हुने र जोखिम पनि बढी हुने भएकाले यस्तो उपाय उत्तम हो । उपभोक्तामा चेतना हुने र आगामी दिनमा खतरा पनि हुँदैन । अभियानले जथाभावी आगलागी हुने र त्यसको क्षति कम गर्न मद्दत पुग्नेछ । उपभोक्ताले पनि डढेलोको क्षति न्यूनीकरणमा सहयोग गर्न जरुरी छ । नियन्त्रित डढेलो लगाएपछि सबैको निगरानी हुन्छ भने जनधनको क्षति हुन पाउँदैन । हरेक वर्ष हुने आगलागीका घटनाले मानवीय र भौतिक क्षति कम गर्न पनि सहयोग पुग्नेछ । जंगल डढेलोले सखाप हुनबाट पनि रोक्छ । त्यसैले डढेलोबाट हामी सबै सचेत हुन जरुरी छ र डढेलो लगाउनेलाई कानुनी कारबाही गर्नु जरुरुी छ ।

सम्बन्धित खवर