
पाल्पा । रामपुर नगरपालिका–८, भुजातमा मौरीघार वितरण गरिएको छ । मौरीघार बितरण गरेको समूहलाई मौरीपालन सम्बन्धी अभिमुखिकरणसमेत गरिएको छ ।
मौरी पकेट कार्यक्रम अन्तर्गत अकला महादेवी कृषक समुहलाई मौरीघार दिइएको हो । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा मौरीघार दिएको छ । मौरी पकेट कार्यक्रम मार्फत १९ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५० वटा गोला सहितको मौरीघार दिइएको हो ।
मौरीघार वितरण संगै कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले निर्वाहमुखी प्रणाली बाट व्यवसायीक तर्फ लाग्न कृषकहरुलाई आग्रह गरे । महको बजार बढ्दो रहेको भन्दै यसलाई थप व्यवस्थित गरेर अघि बढ्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं रामपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले रामपुरमा मौरीको प्रचुर सम्भावना रहेको बताए ।
उनले मौरीपालन सम्बन्धी आफ्नो अनुभव कृषकहरु समक्ष राख्दै मौरी व्यवसाय बाट राम्रो आम्दानी लिन सकिने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेयले कृषकहरुलाई प्राविधिक ज्ञानको बारेमा जानकारी गराए ।
रामपुर नगरपालिका बाट सञ्चालित मौरी पकेट कार्यक्रममा सहभागी कृषकहरुलाई मौरी स्रोत केन्द्र चापाकोटका गोपाल प्रसाद घिमिरेले मौरीपालनको बारेमा प्रशिक्षण दिएका थिए ।
अकलामहादेवी कृषक समुहका अध्यक्ष सागर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सल्लाहाकार त्रिलोचन अधिकारीको स्वागत र पिताम्बर बस्यालको सञ्चालनमा भएको हो ।