पाल्पा । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने कार्यक्रम ल्याएको बताएका छन् । उनले विद्यालयका प्रधानाध्यापकको कार्ययोजना अनुसार सहयोग गर्न आफू कहिल्यै पछि नपर्ने बताए ।
विद्यालयको गुणस्तर सुध्रियो भने बालबालिकाको भविष्य पनि उज्जवल हुने बताउँदै उनले भने, ‘विद्यालय शिक्षा सुधार गर्नका लागिहामी सधै सहयोग गरेका छौं ।’
माथागढी गाउँपालिकाको आयोजनामा गाउँपालिका अन्तर्गतका विद्यालयहरुका प्रधानाध्यापकहरुका लागि आयोजित दुई दिने कार्यशाला तथा प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।
गाउँपालिकाले कक्षा १२ सम्म शिक्षासम्बन्धी अधिकारको व्यवस्था भएकाले नै सोही अनुसार कसरी अगाडी बढाउने भनेर व्यवस्थापनमा जुटेको अध्यक्ष थापाले बताए । उनले गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको र सोही अनुसार विद्यालयमा पाठ्यपुस्तक पनि पुर्याइसकेको बताए ।
गाउँपालिका अध्यक्ष थापाले विद्यालय शिक्षाको जिम्मा पालिकमा भएकाले पनि यहाँको संस्कृति, भूगोल, रहनसहन, परिवेशलाई समेटेर पाठ्यक्रम तयार भएको बताए । उनका अनुसार आगामी दिनमा प्रधानाध्यापकका लागि थप प्रोत्साहन हुने गरी कार्यक्रम गर्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले विद्यालयका शिक्षा सुधारका लागि विद्यार्थी, अभिभावक र शिक्षकका साथै सोही विद्यालयका प्रधानाध्यापकको महत्वपूर्ण भूमिका हुने बताए ।
उनले प्रधानाध्यापकले चाहनो हो भने विद्यालयको शिक्षा सुध्रिने बताउँदै यसका लागि व्यवस्थापन राम्रो गर्नुपर्ने सुझाव दिए । उनले प्रधानाध्यापकले कक्षा लिने होइन विद्यालयको व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिए ।
गाउँपालिकाका शैक्षिक कार्यक्रम संयोजक अषेश भट्टराईले ४१ वटा सामुदायिक र ४ वटा निजी विद्यालयको अवस्थाका विषयमा दुई दिनसम्म छलफल हुने बताए ।
उनले सबै प्रधानाध्यापकले विद्यालयको अवस्थाका साथै कार्ययोजना बनाउन सकियो भने आगामी दिनमा शिक्षा सुधार गर्न सहयोग पुग्ने बताए । उनले सूचना प्रविधिको प्रयोग भरपुर रुपमा गर्नुपर्ने बेलामा सधै पछि पर्नु परेको बताउँदै अब यो कार्यशालाले सूचनाप्रविधि मैत्री बन्नसमेत सहयोग पुग्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले यो तालिमले विद्यालयको व्यवहारिक परिवर्तनको आशा र अपेक्षा गरिएको बताए । प्रशिक्षण कार्यक्रममा मुलुककै नमुना कालिका माध्यमिक विद्यालय बुटवलका पूर्वप्रधानाध्यापक घनश्याम पाठक र सूचना प्रविधिका जानकार युवराज तिवारीले प्रशिक्षण दिनेछन् ।
विद्यालय शिक्षामा सुधार गर्नुपर्ने विषयका साथै सूचना प्रविधिमैत्री बनाउन दुई दिनको कार्यशाला सहयोगी बन्ने अपेक्षा राखिएको छ । उद्घाटन कार्यक्रममा वडाध्यक्षहरु दीपक थापा, जनक रिेजेल, कार्यपालिका सदस्य तारा रसाइली, मनुमाया कुमाल, गाउँ शिक्षा समितिका गिरीराज वेल्वासे, डिल्लीराज रेग्मी लगायतको समेत सहभागिता थियो ।
कार्यशाला तथा प्रशिक्षणमा ४१ सामुदायिक र चार निजी विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता छ ।