
पाल्पा । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना र तिनाउ गाउँपालिकाको पहलमा तिनाउमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ ।
सेवा केन्द्रको लुम्बिनी प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले उद्घाटन गरे । उनले केन्द्रको सेवा घुम्ती रुपमा भएपनि वडा–वडाबाट पनि दिनुपर्ने बताए ।
प्रदेशको तर्फबाट आफूले गर्नुपर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताउँदै उनले नागरिकमा आयुर्वेदको सेवाका विषयमा चेतनामूलक कार्यक्रम गर्न सुझाव दिए ।
तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले आयुर्वेदमा अहिले पनि हाम्रो धेरै विश्वास रहेको बताए । उनले सेवा केन्द्रलाई आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताए ।
जिल्ला समन्वय अधिकारी ध्रुव कवरले कोरोना महामारीले आम मानिस घरभित्र बसेको बेलामा आयुर्वेद स्वास्थ केन्द्रले जिल्लाका विभिन्न स्थानमा गरेको स्वास्थ्य सेवाको प्रसंशा गरे ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी डा. पुष्पराज पौडेलले स्वास्थ प्रवर्धनात्मक कार्यक्रममा यस संस्थाले जनताको मन जितेर काम गर्नुपर्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गाउँपालिकामा पहिलो पटक आयुर्वेद सेवा केन्द्र खुलेकोमा खुसी व्यक्त गर्दै जनतालाई भरपूर लाभ लिन आग्रह गरे ।
गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले मानव जीवनको शरीर सबैभन्दा ठूलो चीज रहेको रहेको भन्दै आयुर्वेदिक चिकित्सा पद्धती सबैभन्दा ठूलो विज्ञान भएको बताए । उनले गाउँघरका कुना कन्दरामा अहिले पनि यो पद्धती प्रयोगमा आइरहेकोले यसको विकासमा सबैले साथ दिनुपर्ने बताए ।
आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधवप्रसाद बस्यालले संस्थाले जनतालाई दिने सेवाको बारेमा जानकारी दिए । उनले सबै सेवा निः शुल्क भएको जानकारी समेत गराए ।
उनले चालु आर्थिक बर्ष भित्र सबै पालिकागत सेवा दिने लक्ष्य रहेको बताए ।
पाल्पा आयुर्वेद स्वास्थ केन्द्रकी बैद्य निरीक्षक सरिता के.सीको स्वागत, बैद्य निरीक्षक यज्ञ गैरेको सञ्चालन र तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिको अध्यक्षतामा भएको हो ।