पाल्पा । लुम्बिनी र्बाद्ध विश्वविद्यालयको नयाँ शैक्षिक कार्यक्रम जानकारी गराउने उद्देश्यले तानसेनमा परामर्श बैठक राखेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पाल्पाको संयोजनमा भएको कार्यक्रममा विश्वविद्यालयका उपकुलपति हृदयरन्त बज्राचार्यले नयाँ नयाँ पाठ्यक्रम र संकायसहित जनमानसमा विश्वविद्यालय पुग्ने बताए ।
उनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थाको रुपमा अगाडी बढाउन सबैको सहयोग आवश्यक रहेको बताए । युवालाई स्वयं आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरु लुम्बिनी विश्वविद्यालयले ल्याएकाले यसमा सबैको सहयोगको खाँचो रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यक्रमहरु विस्तारै अझ बढ्दै जाने बताए । तीनवटा कार्यक्रम अहिले सुरुवात गरिएको बताउँदै आगामी दिनमा अझ यसलाई अझै विस्तार गरिने उनले बताए ।
देवदह, लुम्बिनी र बुटवलमा सञ्चालनमा भएका कार्यक्रमले नयाँ प्रकृतिका जनशक्ति उत्पादन गर्ने उनले बताए । देवदहमा हुने पढाईले युवालाई स्वरोजगार बनाउने बताउँदैउनले कृषि, वन विज्ञान, समाजशास्त्रका जनशक्ति विश्वविद्यालयबाट उत्पादन हुने बताए ।
दक्ष जनशक्तिको अभावमा लुम्बिनी क्षेत्रको पर्यटन विकासमा नभइरहेको भन्दै उनले अब भने कुनै जनशक्तिको अभाव नहुने उनले बताए । लुम्बिनी विश्वविद्यालय २०६१ सालमा बौद्धदर्शन, साहित्य, शिक्षा र संस्कृतिका साथै अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्था सञ्चालन गर्ने मूल उद्देश्यका साथ स्थापना भएको हो ।
विश्वविद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि १५ वर्षको अवधि छोटो भए पनि यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । उनले रुपन्देहीको देवदहमा ९१बिघा जग्गा प्राप्तिपछि नयाँ कार्यक्रम सुरु गरेको बताए ।
लुम्बिनी विश्वविद्यालयका शैक्षिक कार्यक्रमका डिन उकेशराज भुजुले मानवशास्त्र र समाजशास्त्रका नयाँ विषयका बारेमा जानकारी गराए । उनले देवदहमा प्राप्त जग्गाको उपयोग गर्दै वनविज्ञान, वातावरण, विकास लगायतका विषय थप भएको जानकारी गराए । उनले यसबाट विद्यार्थीलाई आत्मनिर्भर बन्ने ढोका खुल्ने बताए । सेमेष्टरप्रणाली अन्तर्गत हुने पढाईले व्यवहारिक ज्ञान बढी पाउनेछन् ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का लुम्बिनी प्रदेश सल्लाहकार खेम सारु, पत्रकार माधव अर्याल, प्याब्सन जिल्ला अध्यक्ष भरत न्यौपोन, प्याब्सन उपाध्यक्ष महेशमान बज्राचार्य, सचिव डाँसुराम पन्त लगायतले विश्वविद्यालयले यसरी समन्वयात्मक बैठक गर्दा धेरै विषयको जानकारी पाइएको बताए ।