
पाल्पा । माथागढी गाउँपालिकाको आयोजना तथा मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा विपन्न तथा कुमाल समुदायका लागि कम्प्युटर तालिम र होजियारी तालिम रुप्सेमा सुरु भएको छ ।
तालिम विपन्न तथा कुमाल समुदाय लक्षित गरेर वडा नम्बर २ र ३ का २५ जना कम्प्युटर तालिममा सहभागी भएका छन् । तालिम ९० दिन चल्नेछ । होजियारी तालिममा वडा नम्बर १,२ र ३ का कुमाल तथा विपन्न समुदायका १२ जना सहभागी भएका छन् ।
यो तालिम ४५ दिन चल्ने छ । कम्प्युटर तालिम सराई कम्प्युटर र होजियारी तालिम उद्यमशिल सीप विकास केन्द्र सराइमा सञ्चालन हुनेछ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय नारायण प्रसाद आचार्यले सबै सहभागीलाई शुभकामना दिदै सबैले राम्रोसँग सिक्न तथा सिकेका विषयलाई आफ्नो व्यवहारमा प्रयोग गरि आत्मनिर्भर बन्न समेत प्रेरणा दिए । सबैले सिकेको सिकाइलाई आफूले प्रयोग गरि रोजगारीमा लाग्न समेत आग्रह गरे ।
कार्यक्रम अध्यक्ष तथा गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले कार्यक्रममा बोल्दै तालिम सञ्चालन गर्न सहयोग गर्ने मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम कार्यालय बुटवललाई विशेष धन्यवाद दिए ।
तालिममा सहभागीले उपलब्धि मूलक सीप विकास गर्ने गरि तथा दक्ष जनशक्ति उत्पादन हुने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको उनले बताए । सबैले समयको महत्त्व बुझि तालिलाई सफल पार्न र सीप विकास गर्न आग्रह समेत उनले गरे ।
कार्यक्रमका अतिथि कार्यपालिका उपाध्यक्ष निर्मला भट्टराईले तालिम धेरै हुने गरेको तर तालिम सिकेर घरमा बस्ने तथा तालिममा सिकेका कुराहरु रोजगारीमा उपयोग नगर्दा सबै व्यरोजगार हुने गरेको हुदा तालिममा सिकेका कुरालाई आयआर्जनमा लगाउन उत्प्रेरित गरे ।
कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले तालिममा सबैले उपलब्धि मूलक सिकाई सिकी दक्ष रुपमा अगाडि बढ्नु पर्ने साथै सबै आत्मनिर्भर बन्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा वडा नम्बर २ वडा अध्यक्ष जनक रिजाल, कार्यपालिका सदस्य तारा रसाइली, मनुमाया कुमाल तथा तेज घर्ती मगरले सहभागीलाई शुभकामना दिए ।
सहजकर्ता नारायण बहादुर कुमालले स्वागत गरेको कार्यक्रममा कार्यक्रम सम्पर्क व्यक्ति तथा अधिकृत छैटौं नारायण प्रसाद न्यौपानेले सहजीकरण गरे ।








