
पाल्पा । रामपुर नगरपालिकामा आगामी चैत्र १० गते देखि १४ गते सम्म ‘चौथो मेयर कप–२०७७’ हुने भएको छ ।
‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ नगर खेलकुद विकास समिति रामपुरले चौथो संस्करणको मेयर कप सञ्चालन गर्न लागेको हो ।
नगर खेलकुद विकास समितिले शुक्रबार मटेरी खेल मैदानमा पत्रकार सम्मेलन गरी मेयर कप सञ्चालन मिति, मेयर कपमा हुने खेलका विधा र पुरस्कार राशी सार्वजनिक गरेको छ ।
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका सहित सञ्चालन हुने मेयर कपमा यस वर्ष नगर भित्रका खेलाडीहरु विच ७ वटा विधामा प्रतिस्पर्धा हुने जनाएको छ ।
खेल संयोजक किरण मल्लका अनुसार यस वर्ष वडा स्तरिय पुरुष भलिबल, वडा स्तरिय महिला भलिबल, वडा स्तरिय पुरुष फुटबल, वडा स्तरिय पुरुष क्रिकेट, व्याटमिण्टन, वडा स्तरिय डोरी तान्ने प्रतियोगिता र माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।
मेयर कपको उद्देश्य, प्रतियोगिताको पुरस्कार राशी, नियमहरु सार्वजनिक गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले विगतका गल्तीहरुलाई सच्याएर अघि बढ्ने बताए । उनले मेयर कपमा नगर भित्रका खेलाडीहरुले आफ्नो वडा बाट सहभागीता जनाउन सक्ने बताए ।
प्रतियोगितामा पुरुष भलिबल अन्तर्गत प्रथम, द्वितीय र तृतियले क्रमश नगद ६० हजार, ४० हजार र ३० हजार, वडा स्तरीय महिला भलिबल अन्तर्गत प्रथम, द्धितिय र तृतीयले क्रमश नगद ५० हजार, ४० हजार र ३० हजार, वडा स्तरिय पुरुष फुटबल अन्तर्गत प्रथम, द्वितीय र तृतीयले क्रमश नगद ६५ हजार, ४५ हजार र ३० हजार सहित मेयर कप, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
वडा स्तरीय पुरुष क्रिकेट अन्तर्गत विजेता, उपविजेता, फेयर प्ले टीम र म्यानअफ दि म्याचले क्रमश नगद ५० हजार, ३५ हजार र २५ हजार, ८ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र, व्याटमिण्टन अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद २० हजार, १५ हजार र १० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र, वडा स्तरिय डोरी तान्ने प्रतियोगिता अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद १५ हजार, १० हजार र ८ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र र माध्यमिक तह स्तरिय वक्तृत्वकला अन्तर्गत प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
पत्रकार सम्मेलनमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुगेका खेलाडीलाई पुरस्कृत गर्दै, स्थानीय प्रतिभाको उजागरका लागि खेल प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने बताए ।
नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम खेल संयोजक किरण मल्लको स्वागत र सचिव सञ्जु परियारको सञ्चालनमा भएको हो ।