पाल्पा । डढेलो नियन्त्रण सचेतना जगाउन तिनाउ गाउ“पालिकास्तरीय सामुदायिक वनको बृहत आमसभा भएको छ ।
गर्मी मौसममा वनमा आगलागीका घटना हुन नदिन तिनाउ गाउँपालिकाको दोभानमा सचेतनामूलक सभा गरेको हो । वनमा डढेलो नियन्त्रणका लागि पाँचौ आमसभा हो ।
राजनीतिक भाषण भन्दा पनि डढेलो, वन जंगल, वन, वातावरणका विषय आमसभामा उठाइने गरेको छ । ८४ वटा निजी र ३ वटा धार्मिक गरी ८७ वटा सामुदायिक वन रहेको तिनाउमा सामुदायिक वन समन्वय समितिले बृहत आमसभा गर्दै आएको छ ।
कार्यक्रममा सरोकारवाला सबैले वनमा डढेलो लाग्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनीहरुले विभिन्न सचेतनामूलक नारा लेखेका ब्यानरसहित र्याली पनि गरे । र्यालीपछि आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य तुलाराम घर्ती (बसन्त) ले तिनाउ नदीमा देखिएको सुख्खापन जलवायु परिवर्तनको असर भएको बताए ।
तिनाउ जलाधार संरक्षण कार्यक्रम गर्नुपर्ने बताउँदै यसका लागि वन र वातावरण जोगाउन तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम बनाउनुपर्ने बताए ।
वन विनासले हुने खतरा औंल्याउँदै सामुदायिक वनले जनताको आयस्रोतमा सघाएको प्रदेससभा सदस्य घर्तिले चर्चा गरे । तिनाउको दोभानदेखि बुटवलसम्मको बाटोमा यात्रा गर्न असहज हुने गरी वातावरणीय प्रदुषण बढेकाले यस मोटरबाटोको वैकल्पिक उपाय खोजिनुपर्ने पनि उनले बताए ।
यहाँ संचालित टिप्परहरुलाई बैकल्पिक बाटो बनाइदिएर यात्रुवहाक सवारी मात्र यस रुटमा चलाउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले डढेलो नियन्त्रणका लागि सबै सरोकारवाला चनाखो हुनुपर्ने बताए । उनले वनलाई वन जोगिए मात्र वातावरण जोगिने उल्लेख गरे ।
तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले वन र वातावरण क्षेत्रमा काम गर्नका लागि उपभोक्तालाई उत्साहित गराउनुपर्ने बताउँदै स्थानीय सरकारले सक्दो प्रयास गरिरहेको बताए । जनचेतना जगाउन सके आगलागीका घटना न्यूनीकरण गर्न सकिने अध्यक्ष घर्तिले बताए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुव कुँवर, तिनाउ गाउँपालिका उपाध्यक्ष दमन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, नेकपा एमालेका प्रेम श्रेष्ठ, नेपाली काँग्रेसका लालबहादुर थापा, माओवादी केन्द्रका चक्रब्युह थापा, वातावरणविद् तथा अधिवक्ता महेन्द्रप्रसाद पाण्डे, समन्वय समितिका निवर्तमान अध्यक्ष अमरलाल प्रधान, तिनाउ वन समन्वय समितिका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङ, सचिव दिनेश जीसी, सामुदायिक वनका बिमल पौडेल लगायतले बोल्दै बनमा डढेलो लाग्न नदिन र वनको विकासको लागि एकताबद्ध भएर काम गर्न सबैमा आग्रह गरे ।
कार्यक्रम सामुदायिक वन समन्वय समितिका संयोजक पदमलाल शाक्यको अध्यक्षता र सचिव दिनेश जीसीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न जनचेतनामूलक सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
डढेलो विरुद्धको सप्ताहको अन्तिम दिन अर्थात् चैत ७ गते डढेलो नियन्त्रण सम्बन्धी सचेतामूलक वृहत् आमसभा गर्दै आएको छ । वन डढेलोको कारण, रोकथामका उपायहरु, दण्ड जरिवाना र पुरस्कारका विषयमा आम उपभोक्ताहरुलाई जानकारी दिने गरिएको अध्यक्ष शाक्यले बताए ।
कार्यक्रमको आयोजक सामुदायिक वन समन्वय समिति,संयोजन तिनाउ सब डिभिजन वन कार्यालय र व्यवस्थापकका रुपमा डिभिजन वन कार्यालय, पाल्पा रहने व्यवस्था समेत गरिएको छ । सरकारले सम्वत् २०७१ देखि २०८० सम्म अर्थात् एक दशकलाई समृद्धिका लागि वन, सबैका लागि वन भन्ने नारा तय गरि अघि बढेको छ ।
यसै नारालाई साकार बनाउनका निम्ति समेत स्थानीय स्तरमा रहेका सामुदायिक वनहरुले आफ्नो कार्यक्रमलाई वनप्रतिको निर्भरता घटाउने, वनमा डढेलो नलगाउने र लगाउन नदिने र वन संरक्षणका लागि सबैसँग हातेमालो गर्ने कार्यक्रमहरु तय गरेर अघि बढिरहेको वन तथा वातावरणका जानकार तथा वन समन्वय समिति, तिनाउका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङ्ले बताए ।
स्थानीय सामुदायिक वन उपभोक्ता समूहका सञ्चालक समितिहरुले वनमा डढेलो लगाउन दिन हुन्न भन्ने सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएता पनि प्राकृतिक रुपले समयमा पानी नपर्नाले समेत डढेलो बढी सल्किने गरेको बताउँदै आएका छन् ।
वनमा कीरा फटेग्राले महारा जाँदा समस्या पार्ने,च्याउ उमार्न र सर्प अनि मूसालाई मार्न साथै घाँस राम्रोसँग उम्रियोस् भनेर समेत आफ्नै पाखोबारी र ख¥यानमा आगो लगाउने चलन रहेको छ ।
‘वनमा डढेलो लगाएर च्याउ खान पाइन्छ भन्ने गलत प्रवृतिको अन्त्य हुनै पर्छ,’ उनले भने, ‘खरबारी वा पखेरामा आगो लगाएर घाँस राम्रो पलाउँछ अनि सर्प, भुसुनाहरु मारेर सास्ती कम हुन्छ भन्ने अगतिलो सोच पक्कै हटाउनु पर्छ ।’